Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वादेशी रोजगार

वैदेशिक रोजगारबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

वैदेशिक रोजगारबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

शुक्रवार, आषाढ २० २०८२
  • कैलाली। धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केरा खेती गर्दै आएका छन् । उनले भण्डारी बहुउद्देश्य कृषि फार्म दर्ता गरी विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका हुन् ।

    सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केरा खेतीमा लागेका हुन् । उनले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बिचमा व्यवसाय सुरु गरेका हुन् । “विदेशबाट फर्केपछि फुर्सदमा घर बसिरहेको थिए, त्यति बेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन”, भण्डारीले भने, “गाउँमा केही व्यक्तिले केरा खेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केरा खेती नै गर्नुपर्छ भन्ने व्यवसाय सुरु गरेको हुँ ।”

    images

    उनले आफ्नो एक बिघा जमिनमा केरा खेती गरेका छन् । त्यसबाट वार्षिक रु १५ लाख बराबर केराको कारोबार हुने र रु १० लाख जति फाइदा हुने गरेको भण्डारीले सुनाए । उनले उत्पादित केरा बिक्रीका लागि धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताए ।

    कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी पाँच जना छन् । उनले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आएका छन् ।

    हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेका छन् । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ”, उनले भने, “सबैभन्दा ठुलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

    भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नं १४ मा हिजोआज १० जना जति कृषकले केरा खेती गरिरहेका छन् । यसको विकास र बिस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउ बिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उनको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार