Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

ई–९ भिसामा दक्षिण कोरिया जाने श्रमिकको संख्या २१ प्रतिशतले घट्यो

ई–९ भिसामा दक्षिण कोरिया जाने श्रमिकको संख्या २१ प्रतिशतले घट्यो

सोमवार, आषाढ ९ २०८२
  • कोरियामा देखापरेको आर्थिक मन्दीको प्रत्यक्ष असर त्यहाँ जाने पर्खाइमा रहेका नेपाली युवाहरुमा पनि परेको छ । श्रमिक लग्ने प्रक्रिया विगतको जस्तो उत्साहजनक नहुँदा भाषा परीक्षा उत्तीर्ण गरेर बसेका युवाहरुको आशा निराशामा परिणत हुन थालेको छ ।

        जुन १० सम्म १७ देशका २८ हजार ५२० जनामात्र कोरिया गएको तथ्यांक
        उत्पादन क्षेत्रमा सन् २०२४ को भन्दा २५.८ प्रतिशत न्यून
        कृषि तथा सेवा क्षेत्रमा जानेहरु केही बढेको तथ्यांक
        आर्थिक मन्दीले श्रमिकको संख्या घटेको जानकारी

    काठमाडौं । भाषा परीक्षा उत्तीर्ण गरेर नेपालसहित विभिन्न मुलुकबाट दक्षिण कोरिया जाने श्रमिकको संख्या गत वर्षको तुलनामा करिब २१ प्रतिशतले घटेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालयले आर्थिक मन्दीका कारण श्रमबजारमा श्रमिकको मागमा कमी आएको जनाएको त्यहाँका राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत ई–९ भिसा लिएर सन् २०२५ को जुन १० सम्म २८ हजार ५२० जना श्रमिक कोरिया पुगेका छन् । जुन अघिल्लो वर्ष (सन् २०२४) को यसै अवधिको तुलनामा २०.९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसै अवधिमा ३६ हजार ४८ जना श्रमिक कोरिया गएका थिए । यस वर्ष सुस्ताएको आर्थिक वृद्धिका कारण गैरव्यावसायिक रोजगार भिसा अर्थात् ई–९ भिसामा श्रमिकहरु कोरिया लैजाने क्रम घटेको जनाइएको छ ।

    images

    यस अवधिमा विशेषगरी उत्पादन क्षेत्रमा लग्दै आएको श्रमिकको संख्यामा २५.८ प्रतिशतले गिरावट आएको जनाइएको छ । यस वर्षको जुन १० सम्म २१ हजार ४४३ जना श्रमिकमात्र उत्पादन क्षेत्रतर्फ गएका छन् ।कोरियाको श्रम मन्त्रालयका अनुसार कोरोना महामारीका बेला घटेको श्रमिक लैजाने प्रक्रियाले सन् २०२२ र २०२३ मा गति लिएको थियो । यी वर्षहरुमा कोरियाले क्रमशः ८८ हजार १०२ र एक लाख १४८ जना श्रमिक लगेको थियो । यद्यपि, सन् २०२४ मा यो संख्या ७८ हजार २५ मा झरेको थियो । जबकि, उक्त वर्ष सरकारले एक लाख ६५ हजार श्रमिक लैजाने सीमा निर्धारण गरेको थियो ।

    यस वर्ष भने २०२४ को भन्दा पनि कम श्रमिक लैजाने संकेत देखिएको छ । २०२५ का लागि कोरिया सरकारले एक लाख ३० हजार श्रमिकको कोटा छुट्याए पनि हालसम्म त्यसको २१.९ प्रतिशत श्रमिकमात्र लगेको छ ।यस वर्ष ई–९ भिसाको सबैभन्दा ठूलो हिस्सा ओगट्दै आएको उत्पादन क्षेत्रमा उल्लेखनीय गिरावट आएको छ । अघिल्लो वर्षको यसै अवधिमा उत्पादनमा २८ हजार ८८७ जना श्रमिक लगेकोमा यस वर्ष २१ हजार ४४३ जनामात्र कोरिया गएका छन् । यस वर्ष पनि वार्षिक कोटाभन्दा कम श्रमिक लैजाने सम्भावना रहेको जनाइएको छ । सन् २०२४ को तुलनामा माछा मार्ने क्षेत्रमा २१.७ र निर्माण क्षेत्रमा ३३.१ प्रतिशतले श्रमिक घटेका छन् ।

    यद्यपि, कृषि तथा पशुपालन र सेवा क्षेत्रमा भने केही बढी श्रमिक गएका छन् । कोरियाले यस क्षेत्रमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.३ प्रतिशत बढी श्रमिक लगेको तत्थ्यांक छ । अघिल्लो वर्ष तीन हजार ३७९ जना श्रमिक लगेकोमा यस वर्ष चार हजार ३१ जना श्रमिक गइसकेका छन् । अघिल्लो वर्ष सेवा क्षेत्रमा २०७ जना श्रमिक लगेकोमा यस वर्ष २५४ जना गइसकेका छन् जुन २७.५ प्रतिशतले बढी भएको जनाइएको छ ।

    कोरियाले नेपालसहित १७ वटा मुलुकबाट श्रमिक लग्दै आएको छ । इपिएसमार्फत रोजगारीमा जाने श्रमिकहरु ई–९ भिसा लिएर कृषि तथा पशुपालन, उत्पादन, मत्स्यपालन, सेवा क्षेत्रलगायतमा जाँदै आएका छन् ।कोरियामा देखापरेको आर्थिक मन्दीको प्रत्यक्ष असर त्यहाँ जाने पर्खाइमा रहेका नेपाली युवाहरुमा पनि परेको छ । श्रमिक लग्ने प्रक्रिया विगतको जस्तो उत्साहजनक नहुँदा भाषा परीक्षा उत्तीर्ण गरेर बसेका युवाहरुको आशा निराशामा परिणत हुन थालेको छ । उनीहरु कहिले सेक्टर परिवर्तन त कहिले रोस्टर अवधि बढाइदिन भन्दै सरोकारवालाकोमा धाउन थालेका छन् । नेपालबाट सन् २००८ यता एक लाख १५ हजारभन्दा बढी युवा इपिएस प्रणालीमार्फत कोरिया गएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार