Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

कैलालीको जंगलमा १६ देशका डेढ सय विदेशीको अस्वभाविक जमघट, फर्कन प्रशासनको निर्देशन

कैलालीको जंगलमा १६ देशका डेढ सय विदेशीको अस्वभाविक जमघट, फर्कन प्रशासनको निर्देशन

शुक्रवार, चैत्र ८ २०८१
  • कैलालीको जंगलमा झन्डै १५० जनाभन्दा बढी विदेशीहरू एक साताभन्दा बढी समयदेखि बसिरहेको खुलेको छ।

    केही नेपालीसहित १६ देशका नागरिकहरू कैलालीको घोडाघोडी नगरपालिका-९ को सिमली जंगलमा बसिरहेको खुलेको हो। स्थानीय प्रशासनले भने तीन दिनअघि मात्रै जंगलमा विदेशीहरू बसिरहेको भनेर थाहा पाएको छ।

    images

    त्यसरी विदेशीहरू जंगलमा बसिरहेको भन्ने सूचनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल आफै निरीक्षण गर्न गएका थिए। निरीक्षण क्रममा उनले त्यहाँ १६ देशका झन्डै डेढसय मानिसहरु बसिरहेको फेला परेको जानकारी दिए।

    उनीहरूलाई तत्काल जंगल छाड्न भनिएको प्रजिअ हमालले बताए।'पुरूष र महिलाहरू नै थिए। उनीहरूको गतिविधि अमर्यादित देखिन्थ्यो। त्यहाँ घुम्नका लागि अनुमति पनि लिएका थिएनन्। चौबीस घन्टाभित्र जंगल छाड्न भनिएको छ,' प्रजिअ हमालले भने।   

    निरीक्षणका लागि जाँदा उनीहरू दाउरा बालेर बसिरहेको भेटिका थिए। केही लागुपदार्थको नशामा थिए। गर्मीको समयमा जंगलमा आगो बालेर बस्दा डढेलोको खतरा पनि हुने प्रजिअ हमालले बताए।

    'त्यति धेरै मानिसहरू एकैठाउँमा बस्दा आपसमा विवाद र झगडा हुन सक्ने खतरा भएकाले पनि उनीहरूलाई तत्काल जंगल छाड्न भनेका छौं,' उनले भने। अनुसन्धानका क्रममा उनीहरु अमेरिका, चीन, भारत लगायत विभिन्न देशका नागरिकहरू रहेको खुलेको छ।  

    'रेन्बो फेमिली ग्यादरिङ भन्ने एउटा विश्वभरिको अनलाइन ग्रुप रहेछ उनीहरू नेटवर्क मार्फत संसारको विभिन्न जंगलमा गइ बस्ने गरेको भन्ने खुलेको छ,’ प्रजिअ हमालले भने, 'उनीहरू आफूलाई प्रकृति प्रेमी भन्दा रहेछन्।'  प्रशासनले भनेको कार्यान्वयन नभए कानुनअनुसार प्रक्रिया अगाडि बढाउने उनले बताए।

     ग्रुप मार्फत स्थानीय केही मान्छेसँग समन्वय गरी विदेशीहरु जंगलमा बस्न आएको अनुसन्धानबाट खुलेको छ। उनीहरू कोसँगको समन्वयमा नेपाल आए र त्यसरी बसेको भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रजिअ हमालले बताए।

    स्थानीय पत्रिकाले जंगलमा विदेशी नागरिकहरू जम्मा भएको विषय सार्वजनिक गरेका थिए। त्यसपछि दुई जना होटल व्यवसायीहरू ४० वर्षका चेतबहादुर सिंह र ४८ वर्षीय डबलबहादुरले समाचार लेख्ने पत्रकारमाथि नै कुटपिट गरेको आरोप छ।

    जाहेरीपछि उनीहरू पक्राउ परेका छन्। यस सम्बन्धमा पत्रकार महासंघ कैलालीले घटनाको सत्यतथ्य जाँच गर्न माग गरेको छ। प्रजिअ सबै विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार