Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि माघ महिनामा ७२ हजारभन्दा बढीले छाडे देश

वैदेशिक रोजगारीका लागि माघ महिनामा ७२ हजारभन्दा बढीले छाडे देश

विदेसिनेमध्ये ६४ हजार ३११ जना पुरुष र आठ हजार ४४१ जना महिला रहेका छन् ।

बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा ७२ हजारभन्दा बढी वैदेशिक रोजगारीका लागि विदेसिएका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार माघमा ७२ हजार हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

    यो संख्या व्यक्तिगत, संस्थागत, पुनः श्रम स्वीकृति लिने दुबैको हो । जिटुजी प्रणालीमार्फत जानेहरुको संख्या पनि यसमा समावेश छ । विभागले उपलब्ध गराएको विवरणअनुसार माघ महिनामा विदेसिनेमध्ये ६४ हजार ३११ जना पुरुष र आठ हजार ४४१ जना महिला रहेका छन् ।

    images

    श्रम स्वीकृति लिनेमध्ये व्यक्तिगततर्फ नौ हजार ७१५ जना रहेका छन् । यसैगरी संस्थागत श्रम स्वीकृति लिने श्रमिक ३३ हजार ४५२ तथा पुनः श्रम स्वीकृति लिने २८ हजार २५८ रहेका विभागले जनाएको छ । उक्त महिनामा जिटुजीमार्फत एक हजार १६ जना रोजगारीका लागि विदेश लागेका छन् ।

    यससँगै चालु आर्थिक वर्षको सात महिनामा रोजगारीका लागि विभिन्न मुलुक जाने श्रमिकको संख्या चार लाख ६५ हजार ५०८ पुगेको छ । माघ महिनामा विदेसिनेको संख्या अघिल्लो महिनाको तुलनामा पाँच हजारले बढेको छ । गत पुसमा ६७ हजार २५८ जना श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका थिए । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जना वैदेशिक रोजगारीमा गएका थिए ।

    संस्थागत उजुरीको अवस्था
    विभागमा गत माघ महिनामा संस्थागततर्फका ११२ वटा उजुरी परेका छन् । यस्ता उजुरी विभागको उद्धार, राहत तथा समन्वय शाखामा दर्ता हुने गरेका छन् । जसमध्ये १० वटा उद्धार, १५ वटा क्षतिपूर्ति र २० वटा घटनामा आपसी सहमति भएको छ ।

    माघ महिनामा विभागमा परेका उजुरीमध्ये ४५ वटा फस्र्योट भएका विभागले जनाएको छ । यसैगरी २४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको तथ्यांक छ । सात महिनाको अवधिमा विभागमा जम्मा एक हजार ६६ वटा उजुरी परेकामा हालसम्म ५६५ वटा फस्र्योट भएको विभागले जनाएको छ ।

    गत साउनमा २२५, भदौमा २३१, असोजमा १३७, कात्तिकमा ८६, मंसिरमा १४१ र पुसमा १३४ वटा संस्थागततर्फका उजुरी परेका छन् । जसअनुसार चालु आर्थिक वर्षको सुरुआतको तुलनामा पछिल्लो महिनामा यस्ता घटनामा केही कमी आएको देखिन्छ । चालु आर्थिक वर्षको सात महिनामा विभागले जम्मा पाँच करोड १२ लाख १४ हजार ५५० रुपैयाँ क्षतिपूर्ति दिलाएको जानकारी दिएको छ ।

    व्यक्तिगत र कन्सल्टेन्सीको ठगी बढ्यो
    पछिल्लो समय वैदेशिक रोजगारीका नाममा व्यक्ति र कन्सल्टेन्सीबाट हुने ठगीका घटना बढेको पाइएको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकमा यस्तो देखिएको हो ।माघ महिनामा विभागको मुद्दा तथा अनुसन्धान शाखामा ५०५ र प्रहरी शाखामा ४८० वटा उजुरी परेका छन् । विभागका अनुसार यी उजुरी व्यक्तिगत र कन्सल्टेन्सीबाट भएका ठगीसँग सम्बन्धित हुन् । माघ महिनामा परेका उजुरीमध्ये करिब ४० प्रतिशत उजुरी कन्सल्टेन्सीको ठगीसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।

    पछिल्लो केही महिनायता कन्सल्टेन्सीमार्फत हुने ठगीका घटना बढ्दै गएको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । ‘विगतमा ठगी भएर नआएको पनि हुनसक्छ, तर पछिल्लो दुई–तीन महिनायता कन्सल्टेन्सीबाट भएका ठगीका घटना बढेका छन्,’ सुवेदी भन्छन् । विभागको उजुरी शाखामा कहिलेकाहीँ एक दिनमै १० देखि १५ वटासम्म कन्सल्टेन्सीबाट ठगिएका उजुरीहरु आएको रेकर्ड रहेको विभागको उजुरी शाखाले जनाएको छ ।

    माघमा आएका ९०० भन्दा बढी उजुरीमध्ये ४९ वटा घटनामा मिलापत्र भएका छन् । विभागका अनुसार ११ वटा मुद्दा अदालतमा दायर भएका छन् । माघमामात्रै विभागको मुद्दा तथा अनुसन्धान शाखाले तीन करोड ९५ लाख आठ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको तथ्यांक छ । पछिल्लो सात महिनामा जम्मा १०९ वटा मुद्दा अदातलसम्म पुगेको छ ।

    चालु आर्थिक वर्षको साउनमा ९१३, भदौमा ७५४, असोजमा ४४७, कात्तिकमा ४६७, मंसिरमा ६८८ र पुसमा ८९३ वटा व्यक्तिगत र कन्सल्टेन्सीबाट ठगिएका उजुरी परेका छन् । पछिल्लो महिना माघमा यस्तो उजुरी बढेको विभागले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।

    प्रभाव अनलाइनका लागि ममता थापा 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार