काठमाडौँ । प्रवासमा पनि जनयुद्ध दिवस मनाइएको छ । विश्वका विभिन्न देशमा नेकपा माओवादी केन्द्रका शुभेच्छुक संस्थाहरूले ३० औँ जनयुद्ध दिवस मनाएका हुन् ।
सोही क्रममा गत शुक्रबार नेपाली जनप्रगतिशिल मञ्च कतारले जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेक) सहइन्चार्ज डिबि क्षेत्रीको प्रमुख आतिथ्ययतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिसहित माओवादीप्रति आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि क्षेत्रीले परदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई एकजुट भएर राम्रा काम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए ।
यसैगरी जनप्रगतिशील मञ्च दक्षिण कोरियाले जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा अध्यक्षतामा भएको कार्यक्रममा जनयुद्धको जगमा प्राप्त उपलब्धिको विषयमा चर्चा गर्दै सहिदहरुप्रति श्रद्धाञ्जली र घाइते तथा बेपत्ता र सम्पूर्ण योद्धाहरूमा सम्मान प्रकट गरिएको थियो।



