काठमाडौं । शुक्रबार अपराह्नदेखि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।
बिहीबार विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवार अपराह्नदेखि नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले सो प्रणालीको प्रभावका कारण शनिवारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानसहित गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात समेत हुनसक्ने जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।



