बहुपक्षीय ऋणदाता विश्व ब्यांकले नेपाललाई १० करोड अमेरिकी डलर (करीब १३ अर्ब ५० करोड रुपैयाँ) ऋण दिने भएको छ।
ब्यांकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपाललाई हरित, सहनशील र समावेशी विकास कार्यान्वयनका लागि यो ऋण दिन लागेको ब्यांकले विज्ञप्तिमार्फत जनाएको छ। विकास नीति सञ्चालन परियोजनाका लागि यो ऋण स्वीकृत भएको हो। यसको उद्देश्य नेपालको दिगो विकास मार्गका लागि अनुकूल वातावरण सुधार गर्नु भनिएको छ।यो ऋण सहायताले नेपाललाई सहनशीलता र दिगोपन निर्माण गर्न उत्प्रेरित गर्ने तथा सबै नेपालीका लागि दीर्घकालीन वृद्धिको आधारलाई सुरक्षा र प्रोत्साहन गर्ने विश्व ब्यांकका क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लेनले बताएका छन्। यो कार्यक्रमले हरित वित्तीय उपकरण, जल सुरक्षा, सिँचाइ, जमीन उपयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, तथा जलवायु र विपद् सूचना प्रणालीजस्ता विभिन्न क्षेत्रमा नेपालले अघि सार्ने नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सहयोग गर्छ।
पछिल्लो तीन वर्षयता नेपालले वातावरणीय दिगोपना, सहनशीलता र समावेशी विकासका क्षेत्रमा महत्वाकांक्षी कार्य योजनाहरू अघि सार्दै आएको छ। बेरोजगारी, महामारी, कमजोर समूहका लागि आर्थिक अवसरहरूको विस्तार र जलवायु तथा अन्य वातावरणीय जोखिमजस्ता परस्पर जोडिएका चुनौतीलाई सम्बोधन गर्न सरकारले ब्यांकसँग ऋण लिएर खर्च गर्दै आएको जनाइएको छ।
वायु गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरणका लागि जलवायु मौसमी सेवाहरू विस्तार, वर्षभर सिँचाइ र सुरक्षित पानी आपूर्ति प्रवर्द्धन गर्दै जल सुरक्षा सुधार, सामुदायिक वन व्यवस्थापन सुदृढ, र भूमिसम्बन्धी योजना सुदृढीकरण गर्ने लक्ष्यअन्तर्गत कार्यक्रम सञ्चालनमा छन्।



