Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बीआरआईमा कांग्रेस र एमालेको साझा दृष्टिकोण , अब परियोजना कार्यान्वयन हुन्छ : पोखरेल

बीआरआईमा कांग्रेस र एमालेको साझा दृष्टिकोण , अब परियोजना कार्यान्वयन हुन्छ : पोखरेल

आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय मामिलामा प्रमुख राजनीतिक दलहरूले साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रियाको आरम्भ भएको बताएका छन्। बीआरआईको कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा धारणा बनाउने काम गरेकाले परियोजना कार्यान्वयन हुने दाबी गरेका हुन्। 

    ‘बीआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा धारणा बनाउने काम गरेका छन्।’ महासचिव पोखरेलले फेसबुकमार्फत भनेका छन्, ‘विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि सो अन्तर्गतका परियोजनाहरू अघि बढ्न सकेका थिएनन्। अब बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ।’

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ नामको प्रस्ताव राखेर चिनियाँ पक्षसँग लैजाने भएका छन्। दुई दलबीच बीआरआईअन्तर्गतका परियोजनामा ऋण नलिने  र अनुदानमा लिने नीतिमा सहमति भएको हो।

    प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बीआरआईमा सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउने पोखरेलको भनाई छ। ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउनेछ। बीआरआईका सन्दर्भमा प्रमुख दलहरूबीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रिया आरम्भ भएको मान्न सकिन्छ।’

    नेपालले सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। दुई देशबीच लामो समयसम्म सम्झौता नहुँदा नेपालमा बीआरआईअन्तर्गत कुनै परियोजना अगाडि बढ्न सकेका छैनन्। अब भने ओली नेतृत्वको सरकारले चीनमा प्रस्ताव लैजाने तय गरेको छ।

    बीआरआईसम्बन्धी सम्झौताको दस्ताबेज टुंगो भए सँगै नेपाल पक्षले टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोट्र्स एन्ड एथलेक्टिस कम्प्लेक्स परियोजना छन्। चीनले सहमति जनाए प्रधानमन्त्री चीन पुगेको भोलिपल्टै नयाँ फ्रेमवर्कमा हस्ताक्षर हुने छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार