काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचार गरिएको गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको बताएका हुन् ।
‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्,’ ओलीले भने, ‘त्यो फर्किएको चाहिँ भन्दैनन् ।’
रोजगारीका लागि विदेश गएकाहरु निश्चित अवधिपछि स्वदेश फर्किने बताउँदै उनले विदेश जानेहरुको मात्रै भीड देखाइएको गुनासो गरे ।
‘जे पनि अतिरञ्जित गर्ने । तीलको पहाड बनाइएको छ । तील पनि चाहिँदैन । तील पनि गफैमा उत्पादन गर्छ,’ उनले भने, ‘तिललाई ताड र ताडको पहाड बनाउँछ ।’
प्रधानमन्त्री ओलीले २०७८ सालको जनगणना अनुसार २ करोड ९२ लाख जति नेपालमा र २२ लाख मानिस बाहिर रहेको तथ्यांक सुनाए । उनले त्यहाँ पनि सामाजिक सुरक्षा प्रबन्ध लागू गर्ने बताए ।६ वर्ष देशको राजनीति, अर्थतन्त्र, सामाजिक जनजीवन, सांस्कृतिक गति सहज ढंगले नबढे पनि सामाजिक सुरक्षा अभियानले राम्रो गति लिएको भन्दै खुसी व्यक्त गरे ।



