Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बीआरआई हस्ताक्षर गर्ने मध्यमार्गी बाटो खोज्दै प्रधानमन्त्री ओली

बीआरआई हस्ताक्षर गर्ने मध्यमार्गी बाटो खोज्दै प्रधानमन्त्री ओली

मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि चीनको औपचारिक भ्रमण गर्दैछन्। उनको चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा सोमबार दलहरू छलफल गरेका छन्। छलफलका क्रममा दलहरूको मिश्रित धारणा सार्वजनिक भएका छन्।

    प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे सुझाव लिन पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग गरेका छलफलमा कांग्रेसले बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने आफ्नो यसअघिकै धारणा यथावत् राखेको छ। 

    images

    प्रधानमन्त्री ओलीले आफू चीन भ्रमणमा जानु अघि बीआरआई कार्यान्वयनलगायत अन्य सहमति र सम्झौताबारे सुझाव लिन उक्त बैठक बोलाएका थिए। उनले ठूलो विवाद हुने गरी आफूले नयाँ सम्झौता नगर्ने उल्लेख गर्दै मुलुकको हित हुने गरी भ्रमणको गृहकार्य भइरहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं। ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन। दुई देशको सम्बन्ध अझै बलियो बनाउनयो भ्रमण हो।’

    उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए।

    प्रधानमन्त्री ओलीले भारतभन्दा चीनमा पहिला पुगे पनि अर्का छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट पारे। उनले दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए। उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’का रूपमा कसैले लिन नहुने आग्रह गरे। अर्कोतिर माओवादी केन्द्र र एकीकृत समाजवादीले बीआरआई परियोजना सम्झौता गर्नुपर्ने तर त्यसको लागि मध्यमार्गी उपाय के हुन सक्छ भन्नेतर्फ ध्यान दिन आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा भएका सहमति र समझदारी कार्यान्वयनको बाटोमा लैजान सकेमात्रै चीन भ्रमण सफल हुने सुझाव दिए। 

    बैठकपछि प्रचण्डले भने, ‘नेपाल–चीन सम्बन्धमा मेरो कार्यकाल र मेरो भ्रमणमा जुन विश्वासको वातावरण निर्माण भएको थियो र जुन समझदारी बनेका थिए, त्यसको सही कार्यान्वयनको बाटोमा जान सकेमा तपाईंको भ्रमण सफल मान्न सकिन्छ।’ 

    बैठकमा बोल्दै प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई परियोजना अघि बढाउने विषयमा डराउन नहुने बताए। 

    अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने विचार राखे। सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाइ थियो। 

    नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गरे। 

    उनले भने, ‘बीआरआई स्वाभाविक रूपमा नेपालले स्वीकार गर्दै आएको हो। स्वीकार नगर्ने त प्रश्नै छैन नि। बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन। दक्षिणका देशहरू साउथ साउथ कोअपरेसन भित्र यो पर्दछ। यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्छ।’ नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुने गरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार