Oct 28 2026 | २०८३ कार्तिक १२ गते

१० महिनामा एक्काइस लाखले गरे विदेश यात्रा

१० महिनामा एक्काइस लाखले गरे विदेश यात्रा

आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २१ लाखभन्दा बढी यात्रुले बाह्य मुलुकको यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सो अवधिमा भएका २८ हजार ८२ उडान–अवतरणमार्फत ३८ लाख २७  हजार ३११ यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन्, जसमध्ये २१ लाख ४६ हजार १८७ यात्रु बाहिरिएका छन् भने १८ लाख ४६ हजार १८७ यात्रु भित्रिएका छन् ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “सन् २०२४ को अक्टोबरसम्म ३८ लाखभन्दा बढी यात्रुले बाह्यतर्फको उडान सेवा लिएका छन् । अक्टोबरमा मात्रै गत वर्षभन्दा ६० हजारभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन् ।” सन् २०२३ को अक्टोबरमा चार लाख ६२ हजार २४० यात्रुले ओहोरदोहोर गरेका थिए भने सन् २०२४ को सोही अवधिमा पाँच लाख आठ हजार ११६ यात्रुले हवाई सेवा लिएका छन् ।

    images

    अहिले विमानस्थल विस्तारको काम जारी रहेकाले अर्काे वर्ष थप उडान र यात्रुको सङ्ख्यामा थप बढोत्तरी हुने उहाँले बताउनुभयो । विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङ वे, ह्याङ्गर निर्माण र समानान्तर ट्याक्सी वे विस्तारको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै हाल राति १० बजेपछि हुँदै आएका छ वटा उडान बन्द भए पनि हवाई यात्रुको सङ्ख्या भने यथावत् नै रहेको उहाँको भनाइ छ । 

    प्राधिकरणका अनुसार सन् २०२४ को जनवरीमा दुई लाख पाँच हजार ६५, फेब्रुअरीमा तीन लाख ९५ हजार ३७४, मार्चमा चार लाख ५४ हजार ६८९, अप्रिलमा चार लाख ५० हजार ४५२, मेमा पाँच लाख एक हजार ६६, जुनमा तीन लाख ६३ हजार ५९१, जुलाईमा तीन लाख ५६ हजार ४४, अगस्टमा तीन लाख ५८ हजार ३८८, सेप्टेम्बरमा दुई लाख २७ हजार ५५३, अक्टोबरमा पाँच लाख आठ हजार ११८ यात्रुले बाह्यतर्फको हवाई सेवा लिएका छन् ।

    अन्तर्राष्ट्रियतर्फ यस वर्ष सबैभन्दा बढी यात्रु बोक्नेमा कतार एयर रहेको छ ।  कतार एयरवेजले करिब १९ सय उडान–अवतरणमार्फत पाँच लाख यात्रु बोकेको छ । दोस्रो नम्बरमा रहेको नेपाल वायु सेवा निगमले २३ सय ८० उडान अवतरणमार्फत करिब पाँच लाख यात्रु बोकेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार