काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंमा बयान सुरु भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जोशीको बयान सुरु भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
पोखरा रहेका उनलाई स्वर्ण लक्ष्मीको अनुसन्धानका लागि मंगलबार काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका जोशीको बयान सकिएपछि पोखरा फर्काइने छ । जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक समेत हुन् । उनीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौं झिकाइएको हो ।



