काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन संघको वालुवाटारस्थित सचिवालयमा पुगेका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका समितिका संयोजक शेष घले सचिवालयमा पस्न पाएनन् ।
घले बैठक बसाल्न त्यहाँ पुग्दा सचिवालयका कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतले कार्यालयमा ताल्चा मारेर हिँडेपछि उनी सचिवालयमा पस्न नपाएका हुन् ।
यसअघि सर्वोच्च अदालतको चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै उच्चस्तरीय समितिका घलेले सचिवालयमा बैठक बोलाएका थिए।
‘एनआरएनएलाई मिलाएर लैजाउँला भन्ने आशाका साथ बैठक बोलाइएको थियो। यो नसोचेको भयो’, घलेले भने।
उच्चस्तरीय समितिको बैठक बसाल्न घले समूहको तर्फबाट विनोद कुँवर र जानकी गुरुङ दिउँसो २ बजे नै संघको सचिवालयमा पुगेका थिए। त्यसपछि घले र रवीना थापा पुगेका थिए। घले त्यहाँ झण्डै १० मिनेट मात्र बसेका थिए।
यता सचिवालयका एक कर्मचारीले पूर्वनिर्धारित तालिका अनुसार स्टाफ तालिम भएकाले आज कार्यालय बन्द भएको बताए। तर सचिवालय बन्द गरेर सिइओसहित सबै हिँडेको घले समूहको गुनासो छ।
झण्डै ४ वर्षपछि बैठक बस्न पुरानै कार्यालय फर्किएका घले त्यहाँ छिर्न नपाएपछि आफूलाई अपमानित महशुस गरेको बताए।
‘यो भवन त सबैको (एनआरएनए) हो नी, म अध्यक्ष हुँदा नै बनाइएको थियो। आफैले बनाएको ठाउँमा आफै बस्न नपाउने, यो कस्तो तरिका हो ?,’ सचिवालयमा छिर्न नपाएर रिसाउँदै घले समूह नेपाल हाउस पुगेका थिए ।
घलेले नेपाल हाउस पुगेर बैठक सुरु गरेपछि त्यहाँ संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पनि सहभागी भएका थिए ।
एनआरएनएमा विवाद बढेपछि सन् २०२१ मा घलेले आफ्नो सानो समूहलाई फुटाएर छुट्टै एनआरएनए निर्माण गरेका थिए। आफूले महाधिवेशन गराएको समूह नै आधिकारिक भएको दाबी गर्दै सर्वोच्च पुगेका घलेलाई एकता महाधिवेशन गराउन आदेश आएको थियो। तर, गत साउनमा सर्वोच्च अदालतकै अर्को बेन्चले एघारौं महाधिवेशनमा निर्वाचित नेतृत्वलाई काम गर्न पाउने बाटो खोलिदिएको थियो। सोही फैसला बमोजिम एघारौं महाधिवेशनमा निर्वाचित डा. बद्री केसी नेतृत्वको समितिले वालुवाटार फर्किएर कामकारवाहीलाई निरन्तरता दिइरहेका छन्।
केसीले सर्वोच्चको दोस्रो फैसला मान्नुको विकल्प नभएको बताउँदै आइरहेका छन्।



