वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई सोमबार पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौँ–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापा मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरेको हो ।
उक्त कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूलाई विदेश पठाइदिने भन्दै ठगी गरेका थिए । उनले भने, 'पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट आठ लाख २५ हजार, बुढाले युके पठाउने भन्दै एक जनाबाट दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट दुई लाख २५ हजार लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।'
पक्राउ परेकाहरुको थप अनुसन्धान तथा कारबाहीका लागि सोमबारै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।



