काठमाडौँ । उपभोक्ता मर्कामा पर्ने गरी महँगो भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।
हवाई भाडा अस्वाभाविक रूपमा बढेको गुनासो आएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।
प्राधिकरणले नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो ।
सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ ।



