Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसियामा थप विदेशी श्रमिक नलिने नीतिले पायो निरन्तरता, मारमा नेपाली

मलेसियामा थप विदेशी श्रमिक नलिने नीतिले पायो निरन्तरता, मारमा नेपाली

बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाले निरन्तरता दिएको छ ।

    १ जुन २०२४ (१८ जेठ २०८१) देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले १५ सेप्टेम्बरको समीक्षापछि पनि पुनः निरन्तरता दिएको हो ।

    images

    मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले सरकारले तोकेको भन्दा देशमा विदेशी कामदारको संख्या धेरै रहेकाले यो निर्णयलाई निरन्तरता दिइएको बताए । ‘विदेशी कामदारहरूलाई काममा राख्न तोकिएको कोटा अर्को सूचना नभएसम्म जारी रहनेछ’, उनले मलेसियाली सञ्चार माध्यमहरुसँग भनेका छन् ।

    मलेसिया प्रमुख श्रम गन्तव्य नेपालजस्ता देशलाई यो निर्णयले अप्ठेरो परेको छ । गत जेठयता मलेसियामा नेपाली श्रमिक रोजगारीका लागि जान पाएका छैनन् ।

    मलेसियाको अर्थ मन्त्रालयका अनुसार कुल १ करोड ७० लाख श्रमशक्तिमध्ये विदेशी कामदारलाई १५ प्रतिशतमा सीमित गर्ने नीति लिइएको छ । मलेसिया सरकारले यसअघि स्वीकृत कोटाभित्र आप्रवासी कामदार ल्याउन बाँकी कम्पनीहरूलाई मे ३१ सम्मको समय दिएको थियो ।

    मलेसियामा अहिले २० लाखभन्दा बढी आप्रवासी कामदार रहेको अनुमान छ, त्यसमध्ये ५ लाखभन्दा बढी नेपाली नै रहेको अनुमान छ ।

    नेपालको जस्तै मौसम भएका कारणले धेरै अदक्ष श्रमिकले मलेसियालाई रोज्ने गरेका थिए । रोक नलाग्दासम्म औसत मासिक ८ हजार नेपाली अहिले पनि मलेसिया पुगिरहेका थिए । नेपालको मुख्य श्रम गन्तब्यको सूचीमा मलेसिया यूएईपछि दोस्रो स्थानमा थियो ।

    मलेसियाबाट श्रमिकको माग आउन बन्द भएपछि धेरै नेपालीले रोजगारीको गन्तव्यको विकल्प खोजिरहेका छन् । पछिल्लो समयमा युरोपेली देशमा नेपाली श्रमिकको माग बढिरहेको छ ।

    यसअघि मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै नेपाल सरकारले १२ जेठ २०७५ मा मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारबाही अभियान चलाएका थिए ।

    ११ कात्तिक २०७५ मा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै ब्यहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी भएको थियो ।

    तर मलेसियाले पुराना भेन्डरमार्फत नयाँ कामदारको भिसा प्रक्रिया अघि बढाउन चाहेपछि समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारी खुलेको थिएन । यसले मलेसियाको रोजगारीमा ठूलो संकट निम्तिएको थियो ।

    सरकारले २९ भदौ २०७६ मा १५ महिनापछि कामदारको हित अनुकुल हुने ग्यारेन्टी गर्दै मलेसियाको रोजगारी खुला गरेको थियो । त्यसपछि कोरोना महामारीले बिथोलिएको मलेसियाको श्रम बजारमा पछिल्ला २ वर्षमा धेरै माग सिर्जना भएको थियो । माग बढेसँगै नेपालबाट पनि ठूलो संख्यामा मलेसियामा युवाहरु रोजगारीका लागि मलेसिया पुगेका थिए ।

    तर, फेरि विदेशी श्रमिकको कोटा तोक्ने निर्णयले मलेसियामा राम्रो अवसर पाएका श्रमिकहरु करार अवधि सकेर फर्किएपछि फेरि जान नपाउने चिन्ता बढेको छ ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ मलेसियाले विदेशी श्रमिकको कोटा तोक्ने नीति लिएपछि नेपाली श्रमिकले सहज श्रम गन्तव्य गुमाएको बताउँछन् ।

    सरकारले यसतर्फ ध्यान दिनुपर्ने भन्दै उनले मलेसियाको सम्भाव्य क्षेत्रहरुमा नेपाली श्रमिकहरुले प्राथमिकता साथ अवसर पाउनुपर्ने विषयलाई सरकारले जोडका साथ उठाउनुपर्ने बताए ।

    ‘अहिले मलेसिया बन्द छ, विकल्पमा अन्य देशमा श्रमिकहरु गइरहेका छन्’, उनले भने, ‘तर, सरकारले सबै ठाउँका सम्भाव्य रोजगारीका अवसर नेपालीहरुले प्राथमिकता साथ पाउने गरी पहल गर्नुपर्छ ।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार