संयुक्त अरब इमिरेड्स (यूएई) को दुबईमा संसारकै सबभन्दा ठूलो विमानस्थल बन्ने भएको छ । दुबईमा बन्न लागेको अल मखतूम अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३५ अर्ब डलर खर्च हुने अनुमान छ ।
यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतूमले सामाजिक सञ्जालमार्फत विमानस्थल निर्माणको जानकारी दिएका हुन् । नयाँ विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ५ गुणा ठूलो हुनेछ ।
हरेक वर्ष यहाँबाट २६ करोड यात्रीले सेवा लिनेछन् । यहाँ ५ वटा समानान्तर रनवे हुनेछन् । जहाँबाट एकैपटक ५ वटा विमान टेकअफ वा ल्याण्ड गर्न सक्नेछन् । यसका साथै विमानस्थलमा ४ सय टर्मिनल गेट हुनेछन् ।
७० वर्गकिलोमिटर क्षेत्रफलमा बन्ने यो विमानस्थलको निर्माण आगामी १० वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । यो परियोजना अनुसार दुबईले विमानस्थल नजिकै नयाँ शहर पनि बसाउनेछ । यसमा १० लाख मानिसको हाउजिङ प्रोजेक्ट पनि पूरा हुनेछ ।
दुबई विमानस्थल हाल संसारकै सबैभन्दा व्यस्त विमानस्थल हो । सन् २०२२ मा मात्रै यो विमानस्थलबाट ६ करोड ६० लाख यात्रुले सेवा लिएका थिए ।
सन् २०१९ मा यो विमानस्थलमा ८ करोड ७० लाख र २०१८ मा ९ करोड यात्रु आएका थिए । अत्यधिक भीडका कारण यो विमानस्थलमा सेवा दिन समेत समस्या हुने गरेको छ ।
त्यसैले दुबई विमानस्थलको अपरेशनलाई अल मखतुममा सार्ने योजना बनाइएको हो । सन् २००९ मा आएको आर्थिक संकटका कारण यो योजना पछि सरेको थियो ।
अल मखतुम विमानस्थल दुबईको विमानस्थलबाट ४५ किलोमिटर टाढा हुनेछ । यो सन् २०१० मा मात्रै बनाइएको विमानस्थल हो । अब बन्न लागेको विमानस्थल प्रतिवर्ष यात्रु आगमनका हिसाबले संसारकै सबैभन्दा ठूलो विमानस्थल हुनेछ ।



