काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस प्रणाली लागू हुन सकेको छैन । असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो ।
वैदेशिक रोजगार विभागले प्राविधिक कारणले लागू गर्न नसकेको जनाएको छ । यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
त्यसपछि असोज २९ गतेदेखि लागू गर्ने भनेर सूचना जारी गरेको थियो । विभागले सूचना जारी गर्दै अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गर्ने जनाएको थियो । तर, प्राविधिक कारणले अनिवार्य रूपमा लागू गर्न नसकिएको जनाएको हो ।
सरकारले बायोमेट्रिकलाई विस्थापित गर्दै पूर्ण रूपमा आईरिस सिस्टम लागू गर्ने तयारी गरेको हो । तर, पटक पटक विभिन्न कारण देखाउँदै सरकारले आईरिस सिस्टम लागू गर्न सकेको छैन ।
विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पुरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
विभागले श्रमिकहरूलाई तालिमका लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको प्रमाण फेला पारेपछि ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थालाई कारबाही गरेको थियो ।
पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।



