Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्दै चीन

अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्दै चीन

बिहिवार, आश्विन २४ २०८१
  • अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । 

    लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भने, “यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।”

    images

    सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतकरिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ ।

    वार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो । सम्बन्ध सुधारका लागि वर्षौंको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो । 

    चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ ।

    तर, हुवावेलाई अष्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो ।

    बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ ।

    सन् २०२५ को सुरुमा पुनः निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो ।

    मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ । 

    यो अस्ट्रेलियाको लबस्टर निर्यातकहरूका लागि पनि एक जीत हो । अल्बानिजले चिनियाँ नयाँ वर्षको समयमा नै प्रतिबन्ध हटाइने बताएका थिए । चीनमा लबस्टरजस्ता विलासिताका सामानहरूको माग अत्यधिक छ । –रासस

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार