काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारले १० लाख रुपैयाँ राहत रकम सरकारले उपलब्ध गराउने भएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो ।
हाल वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । उक्त रकम बढाएर १० लाख रुपैयाँ पु्र्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए ।
उक्त आर्थिक सहायता वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध हुँदै आएको छ । नियमावलीमा संशोधन भएसँगै अबदेखि वैदेशिक रोजगारीमा मृत्यु मृतकका परिवारले १० लाख रुपैयाँ आर्थिक सहायता पाउने सचिव निरौलाले बताए ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।



