काठमाडौँ । चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिनामा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार दुई महिनाको अवधीमा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले ४९ करोड २६ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ ।
पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल वैदेशिक रोजगार बीमाको कुल २१ लाख ५५ हजार २१५ वटा बीमालेख सक्रिय देखिएको छ ।
भदौमा मात्रै कम्पनीहरुले २४ करोड ५४ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनामा कम्पनीहरुले ५८ हजार ३६६ वटा वैदेशिक बीमालेख जारी गरेका छन् ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल नेपाल, सिटिजन, सूर्यज्योति, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा गर्दै आएका छन् ।
यीमध्ये सन नेपाल लाइफले सर्वाधिक वैदेशिक रोजगार बीमा व्यापार गर्न सफल भएको छ । कम्पनीले दुई महिनामै यस्तो बीमा मार्फत २३ करोड ९ लाख २२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपालले को झन्डै आधा हिस्सा ओगटेको छ ।
भदौसम्मको तथ्याङ्कमा कम्पनीको वैदेशिक रोजगार बीमा व्यवसायमा ४६.८७ प्रतिशत योगदान देखिन्छ । हाल कम्पनीसँग कुल ७ लाख ५ हजार ६२० वटा बीमालेख सक्रिय छ । भदौमा मात्रै कम्पनीले २७ हजार १७८ वटा बीमलेख बिक्री गरि ११ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा एशियन लाइफले ८ करोड ५४ लाख, नेपाल लाइफले ४ करोड २१ लाख, नेशनलले ३ करोड ९९ लाख, सानिमा रिलायन्सले २ करोड ७६ लाख, सूर्यज्योतिले २ करोड ७३ लाख र रिलायवल नेपाल लाइफले २ करोड ५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, सिटिजन लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत १ करोड ३२ लाख ५१ हजार, आइएमई आइफले ४८ लाख ९६ हजार, प्रभु महालक्ष्मीले ५ लाख ४५ हजार र लिवर्टी माइक्रो लाइफले भने ४९ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।



