काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमात्रै बनाउन सक्यो । हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो ।
रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए । बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।
चार खेलमा तीन जित र एक रद्द भएको खेल गरी ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ । जनकपुर भने ५ खेलमा तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।



