काठमाडौं। शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेको घटनामा प्रहरीको हेडक्वार्टरबाट नै अनुसन्धान हुने भएको छ ।
त्यसका लागि एक अनुसन्धान टोली डोल्पा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले बताए । यहाँ जिल्ला तहमा पनि एक अध्ययन टोली छ, त्यसले अस्तिदेखि नै काम गरिरहेको छ,’ उनले भने, ‘केन्द्रबाट पनि टोली आइपुगेको छ ।’
जिल्ला प्रहरी कार्यालयको इन्स्पेक्टरको कमान्डमा समिति बनेको छ । उक्त समितिलाई अध्ययन गर्न केही समय लाग्ने देखिएको छ।हेडक्वार्टरको टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगंज)का प्रहरी वरिष्ठ उपरीक्षक राजिवबहादुर बस्नेतले गरेका छन् ।
मेरो नेतृत्वमा हामी ५ जना भर्खर डोल्पा पुगेका छौँ,’ उनले रातोपाटीसँग भने, ‘जिप्रका पुग्यौँ, अब केही समयमा हामी अनुसन्धानको कार्य अघि बढाउँछौँ ।’उनका अनुसार, हेडक्वार्टरबाट ३ जना रहेका छन् भने एक जना कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोलीमा समावेश छन् ।



