काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठक जारी छ। प्रधानन्यायाधीश र केही न्यायाधीशको बिचौलियासँग भएको संवाद तथा आर्थिक चलखेलसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायालय विवादमा तानिएको छ। यसै विषयमा छलफल गर्न सर्वोच्चले फुलकोर्ट बैठक बोलाएको हो।
बैठकमा प्रधानन्यायाधीशसहित बहालवाला न्यायाधीशहरू उपस्थित छन्। फुलकोट जारी रहँदा आजका लागि तोकिएको इजलासहरू प्रभावित भएका छन्। यसअघि शुक्रबार पनि फुलकोर्ट बैठक बसेको थियो। सामान्य छलफलपछि थप छलफलका लागि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा,न्यायाधीश हरि फुयाल, न्यायाधीश श्रीकान्त पौडेल र बिचौलिया भनिएका इनम सापकोटाबीचको सम्पर्क तथा त्यससँग जोडिएका आर्थिक चलखेलसम्बन्धी विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै प्रधानन्यायाधीश र सम्बन्धित न्यायाधीशहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरिसकेका छन्।
प्रधानन्यायाधीश शर्मा र न्यायाधीश पौडेलले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो सम्बन्ध नरहेको तथा सम्बन्धित व्यक्तिसँग भेटघाट वा सम्पर्क नभएको दाबी गरेका छन्। विवादमा तानिएका अर्का न्यायाधीश फुयाँलले आफूबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य नभएको दाबी गरेका छन्।
इनम सापकोटालाई प्रहरीले असोज १४ गते विमानस्थलबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ।



