Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पत्रकार पक्राउ प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पत्रकार पक्राउ प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पत्रकार पक्राउ परेका घटनाहरूको निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेको हो।

    बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताए। कांग्रेसले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको निष्कर्ष निकालेको छ।

    images

    पार्टीले स्पष्ट कानुनी आधार वा अदालतको अनुमतिविना समाचार कक्षमा प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाएको छ। आङदेम्बेले भने, 'पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासन विपरीतको स्वेच्छाचारिता हो।'

    कांग्रेसले सरकारले 'ड्यु प्रोसेस अफ ल' अनुसार काम नगरी जवाफदेहिताविहीन प्रवृत्ति देखाएको टिप्पणी गरेको छ। यस्ता गतिविधिले संवैधानिक संरचनालाई कमजोर बनाएर आफू अनुकूलको शासन लाद्ने षड्यन्त्र भएको पार्टीको दाबी छ। कांग्रेसले पत्रकार धरपकड र अन्य विवादित घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने आङदेम्बेले चेतावनी दिएका छन्।

     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार