काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणअनुसार भूमि समस्या समाधान समिति (ताहाचल) ले साउन १ देखि असोज मसान्तसम्मको अवधिमा उक्त सङ्ख्यामा लालपुर्जा वितरण गरेको हो ।
वितरित १३५ लालपुर्जामध्ये भूमिहीन दलितका लागि ११, भूमिहीन सुकुम्बासीका लागि ४१ र अव्यवस्थित बसोबासीका लागि ८३ वटा रहेका छन् ।
समितिले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न लगत सङ्कलन, प्रमाणीकरण तथा नापजाँचको कामलाई तीव्रता दिएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा समितिको सूचना प्रणालीमा कुल ५१ हजार ५१७ वटा निवेदन प्रविष्ट भएका छन् ।
तीमध्ये भूमिहीन दलितका ७ हजार ७०, भूमिहीन सुकुम्बासीका ८ हजार ८३ र अव्यवस्थित बसोबासीका ३१ हजार ३१७ निवेदन रहेका छन् । यसैगरी, विगतका आयोगका अधुरा तथा अपुरा काम सम्पन्न गर्ने उद्देश्यले थप ५ हजार १२७ निवेदन दर्ता भएका छन् ।
जग्गाको पहिचान तथा वितरण प्रक्रियालाई व्यवस्थित बनाउन समितिले पहिलो त्रैमासिकमा देशभरका विभिन्न स्थानमा १ हजार ९४७ कित्ता जग्गाको नाप नक्सा सम्पन्न गरेको छ ।
यसैबीच, काठमाडौँ उपत्यकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि समितिले भक्तपुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीअनुसार भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
समझदारीपछि वास्तविक लगत सङ्कलनका लागि औपचारिक सूचनासमेत प्रकाशन भइसकेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।



