काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध पोखराले पहिले बलिङ रोजेको हो।
पहिलो संस्करणको विजेता जनकपुर र पोखरा दुवै टोली आज दोस्रो जितको खोजीमा छन्। जनकपुरले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले हराएको थियो।
पोखराले भने प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। त्यसैले कप्तान कुशल भुर्तेलसहित पोखराका खेलाडीलाई आजको खेलमा जित निकाल्ने दबाब छ।
जनकपुरले आज विदेशी खेलाडी इफ्तिखार अहमद र हुसेन तलतबिना खेल्नुपर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) नपाएको र तोकिएको २५ हजार अमेरिकी डलर शुल्क नतिरेको विषयपछि दुवै खेलाडी फर्किएको जनाइएको छ।
गत संस्करणमा जनकपुर र पोखराबीच भएका दुई खेलमा दुवैले एक–एक जित निकालेका थिए। पहिलो संस्करणमा जनकपुरले पोखरालाई सात विकेटले हराएको थियो भने दोस्रो संस्करणमा पोखराले २५ रनले जितेको थियो।
यसअघि शनिबार वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको थियो। दुवै टोलीले एक–एक अंक बाँडेका थिए। सोही दिन विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल पाँच ओभरमा छोट्याइएको थियो। उक्त खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको थियो।



