काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको तयारी तीव्र बनाइएको छ । लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमण सफल बनाउन नेपाली पक्षको तर्फबाट तयारीलाई तिव्रता दिइएको हो । जसअनसार बिहीबार सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालयमा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । छलफलमा नेपाली सेना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलगायतको सहभागिता थियो । वैशाख ११ मा काठमाडौँ आउने अमिर १२ मा फर्किनेछन् ।
नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । अमिरको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ताए । उसो त उनको भ्रमणका लागि गर्न सकिने सम्झौताको विषयमा पनि आवश्यक तयारी थालिएको छ । जसअनुसार नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ ।
सन २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो । उक्त प्रस्तावमा दुवै देशका अधिकारीहरूबिच छलफल अघि बढेको छ । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीबिच भेटवार्ता भएको थियो । यस्तै परराष्ट्र मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा दिने तयारी गरिरहेको छ ।
कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।



