Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आजपाले गठन गर्‍यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी

आजपाले गठन गर्‍यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । आम जनता पार्टी (आजपा)ले एआईसम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले ‘एआई एलाइन्स’ गठन गरेको छ।

    आजपाको जनवर्गीय संगठन विशेष कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा काठमाडौंको अनामनगरमा बसेको बैठकले एआई एलाइन्स गठन गर्ने निर्णय गरेको हो। एलाइन्सलाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने निर्णयसमेत गरिएको अध्यक्ष प्रभु साहले बताए।

    images

    आजपाका अनुसार एआई एलाइन्सको इन्चार्जमा विजय यादव, सहइन्चार्जमा प्रिन्स साह र संगठन संयोजकमा साइमन साहलाई जिम्मेवारी दिइएको छ।

    बैठकमा सहभागी आजपा अध्यक्ष एवं पूर्वमन्त्री साहले एआईको विश्वव्यापी विकास, विस्तार र यसले समाज तथा अर्थतन्त्रमा पार्न थालेको प्रभावबारे धारणा राखे। उनले एआई अब सूचना प्रविधिको सीमित विषय मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सञ्चार, व्यापार, प्रशासन तथा रोजगारीलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने महत्वपूर्ण प्रविधिका रूपमा विकास भइरहेको बताए।

    विश्वका विकसित मुलुक एआईको विकास र प्रयोगमा तीव्र गतिमा अघि बढिरहेका बेला नेपालले पनि समयमै यसको सम्भावना पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने बैठकको निष्कर्ष छ। एआईको ज्ञान र प्रविधिबाट नेपालले लाभ लिन नसके प्रविधिको क्षेत्रमा थप पछाडि पर्ने जोखिम रहेको भन्दै साहले यसको अध्ययन, प्रयोग र जनचेतनालाई प्राथमिकता दिनुपर्ने बताए।

    आजपाका अनुसार एआई एलाइन्स गठन गर्नुको मुख्य उद्देश्य नेपालमा एआईसम्बन्धी ज्ञान र चेतना विस्तार गर्नु, नयाँ पुस्तालाई प्रविधिसँग जोड्नु तथा एआईको सकारात्मक प्रयोगमार्फत सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु हो।

    एलाइन्सले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गरी एआईसम्बन्धी प्रशिक्षण, अभिमुखीकरण, अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गर्ने तयारी गरेको छ। एआईको प्रयोगबाट रोजगारी तथा स्वरोजगार सिर्जना, डिजिटल उद्यमशीलता प्रवर्द्धन र नयाँ प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।

    त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार तथा सार्वजनिक सेवामा एआईको व्यावहारिक प्रयोगको सम्भावना पहिचान गरी त्यससम्बन्धी अध्ययन र बहस अघि बढाउने योजना रहेको छ। किसानलाई कृषि सूचना तथा बजार विश्लेषणमा एआईको प्रयोगबारे जानकारी गराउनेदेखि विद्यार्थी र युवालाई अध्ययन, अनुसन्धान तथा सिर्जनात्मक क्षेत्रमा एआईको जिम्मेवार प्रयोगतर्फ आकर्षित गर्ने उद्देश्य एलाइन्सले लिएको छ।

    एआईको अवसरसँगै यसबाट उत्पन्न हुन सक्ने चुनौतीबारे समेत जनचेतना अभिवृद्धि गरिने आजपाले जनाएको छ। गलत सूचना, डीपफेक, व्यक्तिगत गोपनीयता, साइबर सुरक्षा, रोजगारीमा पर्न सक्ने प्रभाव तथा एआईको दुरुपयोगजस्ता विषयमा सार्वजनिक बहस आवश्यक रहेको आजपाले जनाएको छ।

    एलाइन्सले एआईलाई सीमित प्रविधि विज्ञको विषयमा मात्र नराखी आम नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ। त्यसका लागि प्रदेशदेखि स्थानीय तहसम्म एआईमा रुचि राख्ने युवा, विद्यार्थी, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीलाई संगठित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।

    बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापा मगर, उपाध्यक्ष धनमकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव लालबाबु मन्सुरी, रन्जुकुमारी साह, सचिव विजय यादव, सहसचिव श्रीभगवान पटेल, विदेश विभाग प्रमुख बालकृष्ण सापकोटासहित विभिन्न जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार