Oct 28 2026 | २०८३ कार्तिक १२ गते

लुम्बिनीमा देउवा पक्षको वडा अधिवेशन अन्तिम चरणमा, भोलिसम्म सक्ने तयारी

लुम्बिनीमा देउवा पक्षको वडा अधिवेशन अन्तिम चरणमा, भोलिसम्म सक्ने तयारी

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लामा वडा अधिवेशनलाई अन्तिम चरणमा पुर्‍याएको छ।

    केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका लागि भोलिसम्म म्याद थप गरेपछि बाँकी रहेका वडाको अधिवेशन सम्पन्न गर्न तीव्रता दिइएको छ।

    images

    देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार प्रदेशका करिब ८५ प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेको छ । केही पालिकाका सबै वडा अधिवेशन सम्पन्न भए पनि केही वडामा भने अधिवेशन हुन बाँकी रहेको उनले बताए।

    ‘अहिले करिब ८५ प्रतिशत वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका वडाको पनि भोलिसम्म अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ गिरीले रातोपाटीसँग भने । उनका अनुसार केही वडामा प्राविधिक तथा आन्तरिक कारणले अधिवेशन हुन नसकेमा केन्द्रसँग समन्वय गरी एक–दुई दिनपछि भए पनि अधिवेशन सम्पन्न गर्ने तयारी छ।

    लुम्बिनीका अन्य जिल्लामा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको देउवा पक्षले जनाएको छ । दाङमा करिब ९० प्रतिशत वडाको अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका लागि छलफल भइरहेको छ।

    अर्घाखाँचीमा करिब ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको जिल्ला संयोजक बाबुराम पौडेलले बताए । उनका अनुसार मालारानी गाउँपालिकाका वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने सन्धिखर्कमा करिब आधा वडा अधिवेशन सम्पन्न भएका छन् । अन्य स्थानीय तहमा पनि अधिवेशनको प्रक्रिया अघि बढिरहेको उनले बताए।

    रुपन्देहीमा पनि वडा अधिवेशन अन्तिम चरणमा रहेको केन्द्रबाट खटिएका प्रतिनिधि डा. दामोदर भुसालले बताए। वडा अधिवेशन सम्पन्न भएपछि गाउँ तथा नगर अधिवेशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

    देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक तयारी अघि बढाएको छ । सोहीअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर संगठनात्मक गतिविधि अघि बढाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार