काठमाडौँ । सरकारले पछिल्लो समय उच्चस्तरीय विदेश भ्रमणलाई तीव्रता दिएको छ। अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका भ्रमणमा छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल टुभालुमा छन्।
त्यसैगरी, प्रतिनिधि सभाका सभापति डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानिया भ्रमणमा गएका छन्।
यसैबिच, गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा जाने तयारीमा छन् । अक्टोबर १३ (असोज २७ गते) मा भारतमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी असोज २६ गते त्यसतर्फ जान लागेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘एक दिनको कार्यक्रम हो, अहिलेसम्म बैठकमा सहभागी भएर फर्किने तयारी छ, फेरबदल भए जानकारी गराउँछौँ ।’ गृहमन्त्रीमा नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो।
आगामी नोभेम्बरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि भारत भ्रमणमा जाँदैछन्। त्यसको तयारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय जुटेको छ।
यसअघि प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमणमा नजाने अडान राखेका थिए र आफ्ना मन्त्रीहरूलाई पनि विदेश भ्रमणमा कडाइ गरेका थिए। तर अहिले उक्त अडान छाडेर मन्त्रीहरू धमाधम विदेश भ्रमणमा जान थालेका छन्। बालेन आफैँ पनि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेर फर्केका हुन्।
विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमै रहेको बेला जेठ २२ गते परराष्ट्रमन्त्री खनाल पनि भारत पुगेका थिए। खनालले त्यहाँ भारतीय विदेशमन्त्री एस. जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गरेका थिए।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेका थिए। त्यसैगरी, भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्लेले पनि तीन दिने भारत भ्रमण गर्दै भारतीय समकक्षी निर्मला सीतारमणलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए।
वाग्ले भारतबाट फर्केपछि प्रधानमन्त्री बालेनको भारत भ्रमण तय भएको हो। भ्रमणको ठ्याक्कै मिति घोषणा नभए पनि नोभेम्बर महिनाभित्रै हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्रीको भ्रमणअघि हुन लागेको गृहमन्त्री गुरुङको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘बैठकमा सहभागी हुन जान लागे पनि यो भ्रमण प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा केन्द्रित हुन्छ।’
बैठकका क्रममा सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग साइडलाइन भेटघाट गर्नुका साथै भारतका अन्य उच्चस्तरीय व्यक्तिसँग भेट्ने तयारी गुरुङको छ। यद्यपि, गृह मन्त्रालयले हालसम्म बैठकबाहेक अरू भेटघाट वा कार्यक्रमको कार्यतालिका नरहेको जिकिर गरेको छ।
यो बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक हो। सन् २०१८ मा नेपालमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनले कानुन प्रवर्तन, गुप्तचर र सुरक्षा निकायहरूबिच सहयोग सुदृढ पार्ने निर्णय गरेको थियो।
आतंकवाद र अन्तर्राष्ट्रिय अपराधविरुद्ध सहकार्य गर्न गृहमन्त्रीस्तरीय बैठक गर्ने निर्णय त्यही बेला भएको थियो। भारतमा बस्ने बैठकमा सदस्य राष्ट्रहरूबिच विविध बहुपक्षीय सुरक्षा चुनौतीको विषयमा छलफल हुने गृह मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि सचिवस्तरीय तथा सुरक्षा प्रमुखस्तरीय बैठकहरू पटकपटक बसिसकेको र त्यहाँ भएका छलफलका विषय नै मन्त्रीस्तरीय बैठकमा प्रस्तुत हुने बताइएको छ। मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक बसेर एजेन्डाबारे छलफल गर्ने कार्यसूची छ।
सदस्य राष्ट्रहरूबिचको सुरक्षा सहकार्यलाई बिमस्टेकको महत्त्वपूर्ण अंग मानिएको छ र परराष्ट्र मन्त्रालयले यस बैठकलाई महत्त्वका साथ हेरेको छ। उक्त बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।



