काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप-प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रभावित नागरिकको घाउमा मलम लगाउन र पुनर्निर्माणलाई तीव्र बनाउन तीनै तहका सरकारका साथै प्रतिपक्षी दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताएका हुन्।
उपनेता पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो र डुबानले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यसलाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने धारणा राखे। उनले हिमालय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै यसको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने बताए।
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सम्बोधनले जलवायु न्यायका पक्षमा नेपालको अडानलाई विश्वमञ्चमा बलियो बनाएको उल्लेख गर्दै उनले अब त्यसलाई ठोस साझेदारी र प्रविधि हस्तान्तरणमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। संसदीय विशेष समितिको जिम्मेवारी सम्हालेका पराजुलीले विपद्को वैज्ञानिक अध्ययन गर्दै पूर्वाग्रहविना परिणाममुखी काम गर्ने प्रतिबद्धता समेत जनाए।
सुशासनका सम्बन्धमा रास्वपाको अडान प्रष्ट पार्दै पराजुलीले विगतमा दलीय हस्तक्षेप र भागबण्डाले कमजोर बनाएको प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षताको बाटोमा ल्याउन केही समय लाग्ने भए पनि सरकार सही मार्गमा रहेको दाबी गरे। उनले कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा र सार्वजनिक जग्गा संरक्षणजस्ता कदमहरू सुशासनका सुरुवात भएको बताउँदै भ्रष्टाचार तथा घुसखोरीको अन्त्यका लागि नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गरे। चाडपर्व नजिकिँदै गर्दा विपद्मा परेका नागरिकहरूको दुःखमा साथ दिन उनले सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।



