काठमाडौँ । बझाङको सुर्मा गाउँपालिका–२ डोगडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्मा गाउँपालिका–४ दौतडाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९५ नम्बरको जिप बुधबार दुर्घटनामा परेको हो।
दुर्घटनामा सुर्मा गाउँपालिका–४ निवासी २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा तीन जना सवार रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका जय पृथ्वी नगरपालिका–८ कि करिब २५ वर्षीया विपना बोहरा र भारतको कलकत्ता ठेगाना भएका करिब ४५ वर्षीय सुवासिस दास गुप्ता जिल्ला अस्पताल बझाङमा उपचाररत छन्।
प्रहरीका अनुसार विपनाको दाहिने हातको कुहिनामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। यस्तै, सुवासिसको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार जिप सुर्मा गाउँपालिका–४ का स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको थियो।
दुर्घटना कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार घाइते दुवै जनालाई ११ः२० बजे जिल्ला अस्पताल पुर्याइएको थियो।



