बारा। वैदेशिक रोजगारीका क्रममा मलेसियामा ६ वर्ष बिताएपछि गाउँ फर्किएका बाराको कोल्हवी नगरपालिका–१ बटौलियाका देवानन्द प्रसाद चौधरीलाई तेस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले आफ्नै खेतमा खेती गर्ने सोच बनाए ।
उनले गाउँमा रहेको २ विघा जग्गामाध्ये १० कठ्ठामा पोखरी खनेर माछा पालन शुरु गरे भने बाँकीमा धान, मकै र गहुँ खेती सुरु गरे । अहिले उनले खेतबाट मकै भित्र्याइ सके, धानपनि रोपे । भने पोखरीमा माछा खेलिरहेका छन् ।गत वर्ष धान, मकै बेचेर ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्षपनि टन्नै धान खेती गरेका छन् । घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनको जीवनमा हरियाली छाउन थालेको चौधरी बताउँछन् । अहिले जीवनको उत्तरार्धमा व्यावसायिक धान र मकै तथा माछा पालनले प्रशस्त आम्दानी भइरहेको उनले बताए ।
पछिल्लो समय खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेर मनग्य आम्दानी पनि गर्दै आएका म जस्तै थुप्रै रहेका चौधरी बताउँछन् । खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो विदेश जान नपरेको उनको भनाइ छ । तथापी कतिपय दुख नबुझेर र साथिभाइको लहैलहैमा विदेशिनेहरु पनि रहेको बताउँछन् ।
‘पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेशमा बस्नुपर्ने बाध्यता र रहरजस्तो भनि भयो । तर त्यति दुख गर्दा त स्वदेशमै राम्रो कमाइ हुनेरहेछ भन्ने थाहा पाउन लामो समय लाग्यो’ चौधरीले भने ।
खेतीपातीको आम्दानीबाट चौधरीले एक छोरीलाई ब्याच्लरर्ससम्म पढाएर विवाह सम्पन्न गरिसकेका छन् भने छोराले सिटिइभिटीबाट भरखरै सिएमए पास गरेका छन् । चौधरी भन्छन्– ‘छोरा र छोरीको पढाइदेखि छोरीको विवाह पनि खेतीको आम्दानीबाटै गरेको हुँ । मासिक तलब पो नदेखिएला तर अधिकृतको तलबभन्दा बढि आम्दानी मेहनत गर्ने हरेक किसानले कमाउँछ ।’ माछापालनबाट पनि राम्रै आम्दानी भएको बताउँदै वर्षमा तीन पटकसम्म माछा बेचिने र तीन लाखजति आम्दानी हुने पनि उनले बताए । माछा पालन पनि चौधरीको थप आम्दानीको स्रोत बनेको छ ।
साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्र बाराको कोल्हवी शाखाका सदस्यसमेत रहेका चौधरीले ३ लाख रुपैयाँ ऋण लिएर तीन वटा गाइ पालनसमेत गरेका छन् । जसबाट पनि उनले राम्रो आम्दानी भइरहेको बताए । ‘कृषि सहकारीबाट ३ लाख रुपैयाँ लिएर ३ वटा गाइ पालन गरेको छु । दुधबाट मासिक ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ । ऋण पनि तिरेर सकिन लाग्यो । मिहिनेत गर्दा नहुने के छ र रु विहान बेलुकीको समय गाइलाई दिन्छु’ उनले भने ।



