वैदेशिक रोजगारीका लागि दुबईमा एक दशक लामो समय र साउदी अरबमा दुई वर्ष बिताएका धादिङका योगेन्द्र थापा हिजो आज स्वदेशमै उद्योग चलाइरहेका छन् । विदेशमा लाखौँ रुपैयाँ कमाइ रहेका उनले स्वदेश फर्किएलगत्तै बेकरी उद्योग सञ्चालनमा ल्याएका छन् । अहिले उनको मनग्य आमदानी भइरहेको छ भने आधा दर्जन बढी युवाहरूलाई रोजगारीसमेत दिएका छन् । विदेशमा पनि समाज सेवा गर्दै आएका उनी दुबईमा कार्यरत हुँदा धादिङ समाज यूएईका अध्यक्ष थिए । थापा अहिले पनि अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार हुन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने जागर भएका उनीसँग वैदेशिक रोजगारपोष्ट डटकमका पत्रकार विनोद श्रेष्ठले गरेको संवादको सम्पादित अंश :
विदेश र स्वदेशमा काम गर्दाको फरक कस्तो पाउनु भयो ?
मेरो अनुभवमा विदेश र स्वदेशमा काम गर्दा धेरै कुराको भिन्नता छ । हाम्रो देशमा अझै पनि धेरै काम हातैले गर्नुपर्छ । जस्तोकी अफिसियल कामहरू गर्दा धेरै समय खर्चिनुपर्छ भने विदेशमा त्यस्तो छैन । विदेशमा काम गर्दा धेरै सहज हुन्छ । किन भने जुन कुनै क्षेत्र होस् त्यहाँ हरेक विभागमा अनुभवी कामदारहरू हुन्छन् । उनीहरूले आ–आफ्नो भूमिका निभाएका हुन्छन् । त्यसो गर्दा जिम्मेवारीको हिसाबले काम गर्न सहज हुन्छ । काम गर्ने कामदारहरूकै सवालमा पनि विदेशमा सजिलो छ ।
किनकि चुस्त व्यवस्थापनले गर्दा काममा सहज छ । व्यापार पनि त्यहीँ अनुसारको स्तरीय हुन्छ । हाम्रो देशमा कम्पनीहरूले नाफा गर्न धेरै कठिन छ । त्यसको मुख्य कारण कामदार नै हो । किनकी नेपालमा कामदारहरू स्थायी रूपमा काम गर्दैनन् । २–३ महिना गछन् अनि चित्त नबुझे छोडिहाल्ने प्रवृत्ति छ । लगानीकर्ताहरूले पनि उनीहरूलाई खुसी पार्न सक्दैनन् । किनकी यहाँ थोरै तलबले खर्चै धान्दैन अनि राम्रो तलबका लागि वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन्छन् ।
अर्को कुरा नेपालमा अस्वस्थ प्रतिस्पर्धा छ । जुनकुनै क्षेत्रमापनि लगानीकर्ताहरू सुरक्षित छैनन् । मानौ म बेकरी सञ्चालक हुँ, तर मेरोे किचेनमा आवश्यक पर्ने वस्तुहरू निरन्तर उपलब्ध नै हुँदैन । कि त ब्रान्ड परिवर्तन भइरहँदा हामीले उत्पादन गर्ने वस्तुको स्तरमा फरक पर्न जान्छ र समस्या आईहाल्छ । यस्तो कुराको हकमा विदेशमा सहज छ । नेपालमा कुनै पनि कम्पनीमा चाहिने मेसीनहरू पनि आवश्यक गुणस्तरका हुँदैनन् । र यी सबै अत्याधिक महँगा र कम गुणस्तरका छन् । तर, विदेशमा त्यस्तो छैन ।
विदेशको राम्रो पारिश्रमिक र आधुनिक जीवनशैली छोडेर स्वदेश किन फर्किनु भयो ?
यो प्रश्न धेरै गम्भीर प्रश्न हो । विशेषतः यो प्रश्न मलाई सबैले सोध्ने गर्छन् । तर, वास्तवमा म एउटा अभियन्ता पनि हो र थिएँ । म विदेशमै हुँदा पनि युवाहरूसँग भलाकुसारी गर्दा देशमै केही गर्नुपर्छ भन्ने सोच राख्थेँ । आफूसँग जुन सीप छ । त्यहीँ प्रयोग गरेर नेपालमै आयआर्जन गर्नुपर्छ भन्ने सोच आजभन्दा धेरै पहिलानै मैले वनाएको थिएँ । विदेशमै हुँदा पनि नेपालमा बेकरीको सम्भाव्यताबारे अध्ययन गरी रहन्थेँ । विदेशमा बस्दाबस्दा आफ्ना परिवार, आफन्त र साथीभाइ सबैसँग विछोड भएको जस्तो लाग्थ्यो । म त २०११ मा पहिलो चोटी विदेश गएको २०२० सम्म यूएई र २०२४ सम्म साउदीमा काम गरें ।
रहरले आफ्नो जन्मभूमि छोडेर कोहीँ पनि विदेश जाँदैन । अब यहाँ केही हुँदैन । केही गर्न सकिन्न भन्ने निराशा जागेपछि युवाहरू विदेशिने हुन् । त्यसैले आशा जगाउनु प्रमुख कुरा हो । आफ्नो परिवार, साथीभाइसँग रमाउँदै आफ्नै गाउँ–शहरमा काम गरेर खाने वातावरण बन्यो भने को फर्कंदैन स्वदेश ?
करिब १३ वर्ष त विदेशमै विताएको छु । त्यो समय कहाली लाग्दो थियो । मैले २०१६ देखि कार्यसम्पादन गर्दा नै उच्च पदमा रहेर काम गर्थेँ । तर, पनि मैले नेपालजस्तो अनुभूति गर्न सकिनँ । मलाई विदेश बस्दा जहिल्यै नेपाल मै केहीँ गरौँ भन्ने भावनाले राम्रोसँग सुत्नै दिएन र २०२० अथवा कोरोनाकालमा नेपाल फर्किएँ र वेकरीमा लगानी गरेँ । करिव दुई वर्ष बेकरी चलाएर हेरेपछि मलाई लाग्यो, यही उद्यमलाई अगाडि बढाउर्नुपर्छ भनेर । तर, मसँग पैसा थिएन र फेरि साउदी गएँ ।
म साउदी रहँदा पनि मेरो पुरानो कर्मचारीहरूले र मेरो परिवारका सदस्यहरूले वेकरी चलाइराख्नु भयो । मैले पनि विदेशबाटै सल्लाह सुझावहरू दिइरहेँ । अहिले म नेपाल फर्किसकेको छु । जीवनको १३ वर्ष विदेशलाई सुम्पिएँ, अबको बाँकी उमेर आफूले जानेको सीपको उपयोग गरेर नेपालमै विताउँछु । विदेशमा जति नै कमाए पनि आत्मसन्तुष्टि भनेको आफ्नै देशमा केहीँ गर्न सक्नुमा हुँदोरहेछ । स्वदेशमै केही रोजगार सृजना गर्न सकूँ र स्वदेशी उत्पादनसँग परिचित हुन सकूँ भन्ने भावना ममा छ ।
बजारमा अन्य थुप्रै व्यवसाय हुँदाहुँदै बेकरी नै किन रोज्नु भयो ?
मैले धेरै असफलताका कथाहरू पढेको छु । त्यसमा सबैजसो व्यवसायीहरू आफ्नो पेशा र क्षेत्रमा अनविज्ञ छन् भन्ने मैले थाहा पाएँ । अनुभव नभएको विषयमा हात हाल्दा असफल भइन्छ भन्ने पनि मैले महसुस गरेँ । त्यसैले मैले बेकरी नै सुरू गर्ने निधो गरें । यसमा मलाई सबै कुराको ज्ञान लगभग छ ।
यदि मेरो कुनै कर्मचारीमा समस्या आयो भने तत्काल त्यो जिम्मेवारी बहन गर्ने सीप र अनुभव मसँग छ । त्यसो हँदा मलाई वस्तु उत्पादनमा समस्या आउँदैन किनकी मैले आफ्नो जीवनको २ दशकभन्दा बढी समय बेकरी मै खर्र्र्चिएको छु । बेकरीमा हुने हेल्पर, कुकदेखि हेड सेफसम्मको अुनभव मैले प्राप्त गरिसकको छु । त्यसैले मैले सेवाको निम्ति यसै क्षेत्रलाई रोजेँ ।
वैदेशीक रोजगारीमा जाने युवाहरूलाई स्वदेश फर्काउन सरकारले कस्तो कदम चाल्नुपर्छ ?
रहरले आफ्नो जन्मभूमि छोडेर विदेश कोही पनि जाँदैन । अब यहाँ केही हुँदैन, केही गर्न सकिन्न भन्ने निराशा जागेपछि युवाहरू विदेशिने हुन् । त्यसैले आशा जगाउनु प्रमुख कुरा हो । अहो ! अब त देशमा गरीखाने वातावरण बन्यो है ! अब त आफ्नै माटोमा केही गर्न सकिन्छ है भन्ने आशा युवाहरूमा जगाउन सकियो भने उनीहरू खुशीले स्वदेश फर्कन्छन् ।
आफ्नो परिवार, साथीभाइसँग रमाउँदै आफ्नै गाउँ–शहरमा काम गरेर खाने वातावरण बन्यो भने को फर्कंदैन स्वदेश ? त्यसैले मुख्य कुरा युवामा आशा जगाउने कुरा हो । यसको लागि राजनीतिक स्थायित्व चाहिन्छ र दलहरूमा राष्ट्रनिर्माणको प्रतिवद्धता चाहिन्छ ।
हाम्रो देश सरकार परिवर्तन भईरहने र राजनीतिक अस्थायित्वले निम्त्याएको बेथितिले गर्दा युवाहरूमा अन्योल र भविष्यको चिन्ताले विदेशीन बाध्य भएका हुन् । यो शिलशिला वीव्र गतिमा बढ्दो छ । थोरै समय चल्ने टिक्ने सरकार र तिनका मन्त्रीले स्थायी नीति र कार्यक्रम ल्याउन सक्दैनन् । महंगी नियन्त्रण छैन ।
यसका वावजुद पनि हामी निराश मात्र भएर हुँदैन एउटा आशा, विश्वास र इच्छाशक्ति लिएर आफ्नै जन्मथलोमा केहीँ गर्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्छ । मैले अहिले त्यही गरिरहेको छु । विशेषतः लगानी गर्नको लागि सरकारले सहजीकरण पनि गरिदिनुपर्छ । जस्तो हामीले ५०५ लगानी गरेको अवस्थामा सरकारले प्रोत्साहन स्वरूप ५०५ सफ्ट लोन दिए अति उत्तम हुन्छ । त्यसो गर्दा विदेशिएका युवा फर्किन्छन् भन्ने मलाई लाग्छ ।
अन्त्यमा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई के भन्न चाहानुहुन्छ ?
वैदेशीक रोजगारमा जानेहरूमध्ये केहीँ विद्यार्थीको रूपमा गएका छन् । केहीँ डिपेन्डेन्टमा गएका छन् । केहीँ मजदुरकै रूपमा गएका छन् । म यतिमात्र भन्छु कि जो पनि युवाहरू रोजगारीको लागि विदेशिएका छन्, उनीहरूलाई आफू कुन कामको लागि जान लागेको हो, त्यस क्षेत्रको ज्ञान, सीप र दक्षता हासिल गरेर जानको निम्ति सल्लाह दिन्छु ।



