काठमाडौँ । अमेरिकामा आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट प्रत्यारोपण गरिएको मिर्गौलाले मानिसको शरीरभित्र २७१ दिनसम्म काम गरेको छ । चिकित्सकहरूका अनुसार मानिसमा सुँगुरको मिर्गौलाले यति लामो अवधिसम्म काम गरेको यो नै पहिलो पटक हो।
म्यासाचुसेट्स जनरल अस्पतालका चिकित्सकहरूले २०२५ को जनवरी २५ मा ६६ वर्षीय टिम एन्ड्रयूजको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए । अन्तिम चरणको मिर्गौला रोगबाट पीडित उनलाई टाइप–२ मधुमेहका कारण मिर्गौलाले काम गर्न छाड्दै गएको थियो।
प्रत्यारोपण गरिएको मिर्गौलाले तत्कालै काम गर्न थालेको थियो । त्यसले २७१ दिनसम्म निरन्तर एन्ड्रयूजको शरीरबाट रगत फिल्टर गर्ने काम गर्यो । सन् २०२५ का अक्टोबरमा उक्त मिर्गौला हटाउनुपर्यो । त्यसपछि एन्ड्रयूजले ८२ दिनसम्म डायलाइसिस गराए।
अन्ततः जनवरी २०२६ मा उनले मानव दाताबाट मिर्गौला पाए । यो मिर्गौलाले अहिले राम्रोसँग काम गरिरहेको चिकित्सकहरूले बताएका छन् । सुँगुरको मिर्गौलाले आफूलाई लामो समयसम्म डायलाइसिस मेसिनमा निर्भर हुनुपर्ने अवस्थाबाट मुक्ति दिएको एन्ड्रयूले बताए।
मानव अङ्गको अभावका कारण वैज्ञानिकहरूले पछिल्लो समय अन्य प्रजातिका जनावरको अङ्ग मानिसमा प्रत्यारोपण गर्ने प्रविधिमाथि अनुसन्धान गरिरहेका छन् । अमेरिकामा मात्रै करिब एक लाख मानिस मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन् । तर हरेक वर्ष करिब २५ हजार वटा मात्रै मिर्गौला प्रत्यारोपण हुने गर्छन्।
बेलायतमा पनि ७ हजारभन्दा बढी मानिस मिर्गौला प्रत्यारोपणको प्रतीक्षा सूचीमा छन् । सुँगुरका अङ्ग मानिसका लागि आकारका हिसाबले तुलनात्मक रूपमा उपयुक्त मानिन्छन् । तर सामान्य सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गर्दा शरीरको प्रतिरक्षा प्रणालीले त्यसलाई बाहिरी वस्तुका रूपमा पहिचान गरेर तुरुन्तै नष्ट गर्न सक्छ।
यसलाई रोक्न वैज्ञानिकहरूले आनुवंशिक रूपमा परिमार्जित युकाटन मिनिएचर पिग विकास गरेका छन्। यसको जिनमा ६९ वटा परिवर्तन गरिएको थियो।
यस्ता परिवर्तनले मानव शरीरको प्रतिरक्षा प्रणालीले सजिलै पहिचान गर्ने सुँगुरका केही विशेषता हटाउने, मानव शरीरसँग अनुकूल हुने केही जिन थप्ने र सुँगुरको डिएनएभित्र रहेका सम्भावित भाइरसलाई निष्क्रिय पार्ने उद्देश्य राख्छ।



