काठमाडौं । आवास, श्रम र सीमा उल्लंघन गर्ने आप्रवासीहरूलाई साउदीले कुनैपनि शर्तमा नछोड्ने कडा नियम लागू गरेको छ । सो नियमको आधारमा एक महिनाको अवधिमा साउदी सरकराले २१ हजार ४९ जनालाई कारवाही गर्ने तयारी गरेको छ।
पक्राउ पर्नेहरुमध्ये १३ हजार २ सय ९ रेसिडेन्सी नियम, ५ हजार १ सय ७७ सीमा सुरक्षा र २ हजार ६ सय ६३ श्रम कानुन उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।
साउदीले ल्याएको उक्त कानून उल्लंघन गर्ने आप्रवासीहरुलाई धमाधम पक्राउ गर्न थालको छ । घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
कारवाहीको दायरमा पर्नेहरुमा १ हजार ५ सय ४० जना अवैध रूपमा सीमा पार गर्ने प्रयास गरेकाहरु रहेका छन् । पक्राउ पर्नेहरुमा सबैभन्दा बढी यमनी र इथियोपियाली रहेका छन्। जसमा ४३ प्रतिशत यमनी, ५६ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य राष्ट्रियताका रूपमा पहिचान गरिएको छ। यसबाहेक, अवैध रूपमा राज्य छोड्न खोज्ने ४२ जनालाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ । साउदी सरकारले ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बरहरूमा कल गरेर उल्लंघनका कुनै पनि घटनाहरू रिपोर्ट गर्न आग्रह समेत गरेको छ ।
यसरी पक्राउ पर्नेहरमा सयौं नेपाली पनि रहेका छन् । साउदी कानुन अनुसारको जेल अवधि पार गरेपछि उनीहरुलाई रिहा गरिनेछ । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ ।



