काठमाडौँ । अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री पिट हेगसेथसँग महिनौँदेखि जारी विवाद र तनावपछि उनले पदबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यम सीबीएसले जनाएको छ।
४१ वर्षीय ड्रिस्कोल अमेरिकी सेनाको इतिहासमा सबैभन्दा कम उमेरमा सचिव बनेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा उनलाई उदीयमान सैन्य प्रविधि तथा ड्रोनको प्रयोगलाई प्राथमिकता दिने अधिकारीका रूपमा चिनिन्थ्यो।
ड्रिस्कोलले ट्रम्पको मेक अमेरिका स्ट्रङ अगेन अभियान अघि बढाउन प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको ह्वाइट हाउसले जनाएको छ । ड्रिस्कोल र हेगसेथबीचको विवादको विस्तृत कारण भने सार्वजनिक भएको छैन । सीबीएसका अनुसार ड्रिस्कोल अमेरिकी सेनाका पूर्वप्रमुख र्यान्डी जर्जका निकट मित्र हुन् । जर्जलाई पनि हेगसेथले राजीनामा दिन दबाब दिएको बताइएको छ।
ड्रिस्कोलको राजीनामा अमेरिकी सेनाका उच्च तहका अधिकारीहरूको पछिल्लो श्रृंखलाबद्ध बहिर्गमनमध्ये एक हो। यसअघि अप्रिलमा नौसेनाका सचिव जोन फेलनले अचानक पद छाडेका थिए । सेनाका प्रमुख र्यान्डी जर्ज, अमेरिकी सेनाका जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रिन पनि पछिल्लो समय जिम्मेवारीबाट बाहिरिएका छन्। हेगसेथले पेन्टागनको नेतृत्व सम्हालेयता नौसेना सञ्चालन प्रमुख र वायुसेनाका उपप्रमुखसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाइसकेका छन्।
ड्रिस्कोलले यसअघि अमेरिकी सेनामा अधिकारीका रूपमा सेवा गरेका थिए । सन् २००७ मा सेनामा प्रवेश गरेका उनले क्याभलरी प्लाटुनको नेतृत्व गर्नुका साथै सन् २००९ मा केही महिना इराकमा समेत सेवा गरेका थिए । सेना सचिव बनेपछि उनी युद्धमा प्रयोग हुने नयाँ प्रविधि र ड्रोनको पक्षमा खुलेर लागेका कारण ट्रम्पका ड्रोनसम्बन्धी प्रमुख सहयोगीका रूपमा चर्चित बने । यसैले उनलाई ट्रम्पका ड्रोनम्यान समेत भनिन्थ्यो ।रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले भएका वार्तामा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । यसक्रममा ड्रिस्कोलले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । ड्रिस्कोल अमेरिकी उपराष्ट्रपति जेडी भेन्सका निकट साथी हुन् । दुवैको भेट येल कानुन विद्यालयमा अध्ययन गर्ने क्रममा भएको थियो।



