काठमाडौं । दक्षिण कोरियाको एउटा अदालतले युनिफिकेसन चर्चकी प्रमुख हान हाक–जालाई सोमबार संयुक्त रूपमा दुई वर्षको जेल सजाय सुनाएको छ । पूर्वराष्ट्रपति युन सुक येओलको प्रशासनसँग प्रभाव विस्तार गर्ने प्रयाससँग जोडिएको राजनीतिक चन्दा र घुसखोरी सम्बन्धी कसुरमा उनलाई सो सजाय सुनाइएको हो।
८३ वर्षीया हानले एक बिचौलिया मार्फत राजनीतिज्ञहरूलाई रकम तथा पूर्वप्रथम महिला किम कियोन हिलाई महँगा विलासी सामान उपलब्ध गराउन संलग्न रहेको ठहर सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले गरेको हो । तर हानले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएकी छिन्।
आफूलाई राजनीतिमा कुनै चासो नरहेको र आफ्ना मातहतका व्यक्तिहरूले आफ्नो जानकारी बिनै ती काम गरेको उनले बताएकी छन् । दक्षिण कोरियाली धार्मिक नेता सन म्योङ मुनले सन् १९५४ मा युनिफिकेशन चर्च स्थापना गरेका थिए।
अहिले यसको औपचारिक नाम फेरेर फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेशन राखिएको छ । मुनपछि उनकी पत्नी हान हाक–जाले यसको नेतृत्व गरिरहेकी थिइन्।



