काठमाडौँ । रसुवामा भीषण बाढी आएपछि काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि सुरक्षा चेतावनी र ट्राभल एड्भाइजरी जारी गरेको छ।
नेपाली अधिकारीहरूले भोटेकोशी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका लागि चेतावनी जारी गरेकाले अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
दूतावासले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा रहेका अमेरिकी नागरिकलाई नदी किनार र होचा भूभागबाट टाढा रहन, अग्लो स्थानमा जान र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न अनुरोध गरेको छ।
बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गर्दै दूतावासले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रामा प्रतिबन्ध लगाइएकाले सावधानी अपनाउन भनेको छ। बाढीको पानीमा नहिँड्न, नपौडिन र सवारीसाधन नचलाउनसमेत सचेत गराइएको छ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध रहेकाले सुरक्षित स्थानमा रहेका अमेरिकी नागरिकलाई आफ्नो परिवार, होटेल, गाइड तथा ट्रेकिङ वा टुर कम्पनीसँग यथाशीघ्र सम्पर्क गर्न भनिएको छ। फोन नलागेको अवस्थामा म्यासेज, इमेल वा मेसेजिङ एपहरूको प्रयोग गर्न सुझाव दिइएको छ।
दूतावासले बाढीबाट प्रभावित हुन सक्ने आफ्ना नागरिकहरूको विवरण सङ्कलन गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई आफ्नो पूरा नाम, हालको स्थान, अवस्था र टुर वा ट्रेकिङ कम्पनीको विवरणसहित [email protected] मा इमेल गर्न आग्रह गरिएको छ।
अत्यावश्यक सहयोगका लागि अमेरिकी दूतावासको फोन नम्बर +९७७-१-४२३-४००० मा सम्पर्क गर्न भनिएको छ। गैर-आकस्मिक सूचनाका लागि इमेल प्रयोग गर्न र फोन केवल आपत्कालीन अवस्थाका लागि मात्र आरक्षित राख्न अनुरोध गरिएको छ। स्थानीय खोज तथा उद्धारका लागि नेपालको विपद् हेल्पलाइन नम्बर १२३४ मा सम्पर्क गर्न दूतावासले सुझाएको छ।
नेपालमा रहेका अमेरिकी नागरिकलाई travel.state.gov मा गएर 'स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम' (STEP) मा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ। यसले विपद्का बेला दूतावासलाई सुरक्षासम्बन्धी सूचना र सहायता पुर्याउन सहज हुने दूतावासको भनाइ छ।



