काठमाडौं । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले अमेरिकाको दक्षिणी राज्य लुइजियानामा अहिलेसम्मकै ठूलो रकेट प्रक्षेपण केन्द्र निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार करिब १ खर्ब डलर लगानी हुने परियोजनाको निर्माण सन् २०२७ देखि सुरु हुनेछ । स्टारबेस, लुइजियाना नाम दिइएको यो केन्द्र करिब १ लाख २५ हजार एकड क्षेत्रमा फैलिनेछ।
नयाँ केन्द्रले टेक्सासस्थित स्पेसएक्सको मुख्य आधार र फ्लोरिडाका अन्य प्रक्षेपण केन्द्रबाहेक कम्पनीको अन्तरिक्ष अभियानलाई थप विस्तार गर्ने बताइएको छ । स्पेसएक्सका अनुसार नयाँ केन्द्रबाट हरेक वर्ष हजारौँ स्टारसिप उडान सञ्चालन गर्ने लक्ष्य छ । ती अभियानमा पृथ्वीको कक्षसम्मको उडानदेखि चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा परसम्मका मिसन समावेश हुनेछन् । कम्पनीले लुइजियानास्थित नयाँ केन्द्रबाट पहिलो स्टारसिप प्रक्षेपण सन् २०२९ मा गर्ने लक्ष्य राखेको छ।
यस परियोजनाबाट स्थानीय क्षेत्रमा ३ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना हुने स्पेसएक्सले जनाएको छ। लुइजियाना इकोनोमिक डेभलपमेन्टका अनुसार केन्द्रमा काम गर्ने कर्मचारीको औसत तलब स्थानीय क्षेत्रको हालको औसत तलबभन्दा १९२ प्रतिशत बढी हुनेछ । परियोजनाका कारण अप्रत्यक्ष रूपमा थप ८ हजार १०० भन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
लुइजियाना सरकारले यो परियोजनाले राज्यलाई नयाँ पुस्ताको अन्तरिक्ष प्रविधिको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्न सहयोग गर्ने बताएको छ । ठूलो पूर्वाधार र उच्च क्षमताका कारण रकेट प्रक्षेपणको संख्या उल्लेख्य रूपमा बढाउन सकिने उसको भनाइ छ । नयाँ केन्द्रको नाम टेक्सासमा रहेको स्पेसएक्सको अर्को केन्द्रसँग पनि मिल्छ । टेक्सासको क्यामरन काउन्टीमा रहेको स्पेसएक्सको परीक्षण तथा विकास केन्द्र आसपासको क्षेत्रमा स्थानीय बासिन्दाले सन् २०२५ मा उक्त क्षेत्रलाई स्टारबेस नामको सहरका रूपमा स्थापना गर्ने प्रस्ताव अनुमोदन गरेका थिए।
मस्कले स्पेसएक्सका लागि निकै महत्वाकांक्षी योजना अघि सारेका छन् । मंगल ग्रहमा मानव पठाउनेदेखि कृत्रिम बौद्धिकता (एआई) विकास र अन्तरिक्षमै डेटा सेन्टर सञ्चालन गर्ने योजनासम्म उनले सार्वजनिक गरेका छन् । यसैबीच स्पेसएक्स र मस्ककै अर्को कम्पनी टेस्लाले गत अगस्टमा टेक्सासमा १६ अर्ब ८ अर्ब डलर लगानीमा एआई चिप उत्पादन केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गरेका थिए । टेराफ्याब नाम दिइएको उक्त केन्द्रबाट एआई र रोबोटिक्सलगायत आफ्ना परियोजनाका लागि आवश्यक कम्प्युटिङ क्षमताको माग पूरा गर्ने लक्ष्य राखिएको छ।
स्पेसएक्सले तीव्र विस्तारका योजना अघि बढाइरहेका बेला कम्पनीका लगानीकर्तामाथि नाफा सुनिश्चित गर्ने दबाब पनि बढेको छ । न्युयोर्कको प्रविधि केन्द्रित नास्डाकमा सूचीकृत भएपछि स्पेसएक्सको सेयर मूल्य केही समयमै उच्च बिन्दुबाट ३० प्रतिशतभन्दा बढी घटिसकेको छ । यद्यपि सेयर मूल्य कम्पनीले सार्वजनिक निष्कासनका क्रममा तोकेको १३५ डलरको मूल्यभन्दा अझै माथि रहेको छ।



