काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद ललिता कुमारीले बालबालिकामा बढ्दो मोबाइलको लत नियन्त्रण गर्न अभिभावकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
बालबालिका रोएमा, हाँसेमा वा खाना खुवाउने क्रममा मोबाइल दिने प्रवृत्ति बढेकाले बालापन नै स्क्रिनको जिम्मामा पुगेको उनले बताइन्। बालबालिकाको संवेदनशील अवस्थालाई समेत भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने तथा भ्युजका लागि बनावटी व्यवहार सिकाउने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गरेकी छन्।
अत्यधिक स्क्रिन टाइमले बालबालिकामा विकाससम्बन्धी समस्या देखिन सक्ने उल्लेख गर्दै मोबाइलको प्रयोग नियन्त्रण गर्न अभिभावकलाई सचेत गराउनुपर्नेमा उनले जोड दिइन्।
सदनमा बोल्दै सांसद ललिताले अत्यधिक स्क्रिन टाइमले बच्चामा अटिजम जस्ता विकासात्मक लक्षण देखिन सक्ने र मोबाइलको लतले बाल्यकाल नै खोस्न सक्ने चेतावनी दिइन्। उनले अभिभावकलाई लक्षित गरी तत्काल सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सभामुखमार्फत सरकारसँग माग गरेकी छन्।पछिल्लो समय स्मार्टफोनको लतका कारण मानिसहरूमा विभिन्न शारीरिक तथा मानसिक समस्याहरू देखिने क्रम बढेको छ।



