काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले साढे चार महिनामा पूर्वाधारमन्त्री सुनील लम्साल ५५ जिल्ला पुगेको विषयलाई पूर्वाग्रहले हुन नहुने आग्रह गरेका छन्।राजनीतिमा मतभेद भए पनि मानव्य संवेदनालाई भने ख्याल गर्नुपर्ने उनको आग्रह छ । मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीति भन्दा माथि हुनुपर्ने भन्दै उनले लम्सालको बचाउ गरेका हुन्।
जनताका समस्या र वास्तविकता बुझ्न जिल्ला पुग्दा स्वास्थ्यमा समस्या आएपछि काठमाडौं फर्किएको उनले बताए। यस्तोमा अनावश्यक टिप्पणी नगर्न उनको आग्रह छ।बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । धनगढीबाट काठमाडौँमा सेनाको स्काइ ट्रकमार्फत ल्याइएको हो।
लम्साल शनिबार अबेर साँझ आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए।लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो।त्यसक्रममा बिरामी भएपछि काठमाडौं आएका हुन्। उनी हाल डिस्चार्ज भइसकेका छन्।



