काठमाडौँ । नेकपा एमालेका नेता किरण थापा मगरले आफू नेतृत्वको सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउन सफल भएको बताएका छन्।एमाले, नेकपा र राप्रपासमिलित सरकार गठनका लागि थापाले दाबी पेस गरेका हुन्।
राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको समयमा थापाले राप्रपाको निर्णयलाई उचित समयको पर्खाइका रूपमा व्याख्या गरे। नेता थापाले राप्रपालाई सरकारमा ल्याउन फकाउनु नपरेको बरु उनीहरूको पार्टीको पूर्व–निर्णयलाई नै कार्यान्वयन गरिएको बताए।
थापाका अनुसार नेकपा एमाले र नेकपाले राप्रपासँगको संवादमा अहिले नै उपयुक्त समय हो भन्ने कुरामा सहमत गराउन सफल भएको छ।‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले सरकारमा नजाने भनेर कहिल्यै भनेको थिएन,’ उनले भने, ‘उहाँहरूले उचित समयमा सरकारमा जाने भन्नुभएको थियो र अहिले त्यो उचित समय आएको छ । उचित समय आएकाले नै राप्रपाले हामीलाई समर्थन दिएको हो र भोलिको मन्त्रिपरिषद्मा उहाँहरूको सहभागिता निश्चित भएको छ।’
राप्रपासहितको समर्थनमा बहुमत जुटेकाले अब प्रदेशमा बलियो सरकार बन्ने उनले विश्वास व्यक्त गरे। उनले बिहीबार अपराह्न ४ बजेपछि राप्रपाका मन्त्रीहरूसमेतले शपथ लिने बताए।‘हामी तीन दल (एमाले, नेकपा र राप्रपा) मिलेर ८ वटा मन्त्रालयको संरचनाभित्रै रहेर सरकार सञ्चालन गर्छौँ,’उनले भने।



