काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्।उनले शुक्रबारसम्म सरकारलाई पूर्णता दिने गरी सत्ता साझेदार दलसँग मन्त्रीको नाम माग्ने र मन्त्रालय बाँडफाँट टुंग्याउने आन्तरिक गृहकार्य गरिरहेका हुन्।
नेपाली कांग्रेसले सत्ता गठबन्धन छाडेपछि प्रदेशमा एमाले नेतृत्वको सरकारमा नेकपा, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा साझेदार छन् । मुख्यमन्त्रीसहित ९ मन्त्रालय रहेको प्रदेशमा जनमोर्चाबाहेकका दललाई मन्त्रालय दिनुपर्ने अवस्था छ । हाल प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित पाँच र जसपाबाट दुई जना मन्त्री छन्।
कृषिमन्त्री तुलसी चौधरीले सरकार विस्तारको तयारी भइरहेको रातोपाटीलाई बताए । मन्त्री चौधरीका अनुसार मुख्यमन्त्री आचार्यले नेकपाबाट मन्त्री बन्ने नेताहरूको नाम मागेका छन्।‘अब केही दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘त्यसैअनुसार मुख्यमन्त्री तयारीमा छन् ।’ नेकपाबाट मन्त्रीहरूको नामको सूची आएपछि सरकार विस्तार हुने उनले प्रस्ट पारे।
कांग्रेसले छाडेका मन्त्रालयहरू नेकपालाई दिने एमालेको तयारी छ । तर नेकपाले अर्थ र स्वास्थ्यजस्ता महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरेको स्रोतले जनाएको छ । मुख्यमन्त्री आचार्य नेकपालाई तीन मन्त्रालय दिने पक्षमा छन् । कुन–कुन मन्त्रालय दिने र जसपालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनले सत्ता साझेदार दलका नेताहरूसँग छलफल गरेर टुंगो लगाउने तयारी गरेका छन्।
आर्थिक मामिला तथा योजनासहित तीन मन्त्रालय पाउनुपर्ने नेकपाको अडान छ । तर हाल कायम मन्त्रालयको संरचनामा नेकपालाई तीन मन्त्रालय दिँदा मन्त्रिपरिषद्को आकार र दलगत भागबण्डा मिलाउन समस्या देखिएको छ।नेकपालाई तीन मन्त्रालय दिने हो भने हाल सरकारमा रहेका एक मन्त्रीलाई हटाउनुपर्ने विकल्प मात्र बाँकी रहेको एक एमाले प्रदेशसभा सदस्यले बताए । यस विषयमा मुख्यमन्त्रीले आन्तरिक रूपमा छलफल गरिरहेको ती सदस्यले जानकारी दिए।
लुम्बिनीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय कायम गरिएको छ । मन्त्रालय पुनर्संरचना गर्दा युवा तथा खेलकुद मन्त्रालयलाई सामाजिक विकासमा र उद्योग तथा यातायातलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको छ । जसपाबाट सन्तोषकुमार पाण्डेय सामाजिक विकासमन्त्री र भण्डारीलाल अहिर आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।
यता नेकपाले मन्त्री छनोट गर्न पार्टीका प्रदेश इन्चार्ज चक्रपाणि खनाल, प्रदेश संयोजक अब्दुल हुसेन खाँन र संसदीय दलका नेता जोखबहादुर महरालाई जिम्मेवारी दिएको छ । ती नेताहरूले छिट्टै मन्त्रीको नाम टुंग्याएर मुख्यमन्त्रीलाई बुझाउने तयारी गरेको नेकपा सांसद नरमाया ढकालले बताइन् । पार्टीभित्र मन्त्री बन्ने नेताहरूको नाममा छलफल भइरहेको र नाम टुंगिएपछि मुख्यमन्त्रीसँग मन्त्रालयको जिम्मेवारीबारे समेत छलफल हुने उनले जानकारी दिइन्।
मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई नेकपा, जसपा र जनमोर्चासहित ४५ सांसदले समर्थन गरेका थिए भने विपक्षमा २६ मत परेको थियो । लुम्बिनी प्रदेशसभामा बहुमत पुर्याउन ४२ सांसदको समर्थन आवश्यक पर्छ।
एक सिट मात्र रहेको जनमोर्चाले सरकारलाई समर्थन गरे पनि मन्त्रिपरिषद्मा सहभागी नहुने सहमति यसअघि नै गरिसकेको छ । आफूहरूले विश्वासको मत दिएर सरकार जोगाइदिएको भन्दै जसपाले भने आफूले पाएका दुई मन्त्रालय नछाड्ने अडान राखेको छ।



