काठमाडौँ । नेपाली कांग्रेसले नेपाल रेडक्रस सोसाइटीलाई लामो समयदेखि तदर्थ समितिले चलाउँदा संस्थाको गरिमा र सेवा प्रवाहमा गम्भीर असर परेको बताएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद ललितजंग शाहीले मानवीय सेवामा ६३ वर्षदेखि समर्पित संस्थालाई सरकारले पटक–पटक निलम्बन र तदर्थवादमा अल्झाएको बताए।
उनले नयाँ विधान बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढिरहेका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारीले निर्वाचन रोक्न निर्देशन दिनु दुःखद भएको बताए । रेडक्रसलाई छिटोभन्दा छिटो वैधानिक नेतृत्वमा लैजान र रोकिएको निर्वाचन प्रक्रिया सुचारु गर्न उनले सरकारसँग माग गरे।
सांसद शाहीले भूमाफियाहरूले हडपेका सरकारी, सार्वजनिक र गुठीका जग्गाहरू तुरुन्त फिर्ता ल्याउनुपर्नेमा जोड दिए । २०७६ सालमा मोहनरमण भट्टराईको अध्यक्षतामा गठित आयोगले देशभर ८ हजार १९२ रोपनी जग्गा अतिक्रमित भएको प्रतिवेदन बुझाए पनि हालसम्म कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाए । विगतका सरकारले चासो नदिए पनि वर्तमान सरकारले सुशासनको अनुभूति दिलाउन ती जग्गाहरू सरकारकै नाममा फिर्ता ल्याउनुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय खुसी दिवसको प्रसङ्ग उल्लेख गर्दै सांसद शाहीले नेपाललाई सुखी र खुसी मुलुकको सूचीमा माथि उठाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । धन र सम्पत्तिले मात्र मानिस खुसी नहुने भन्दै उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य र संवैधानिक हकको पूर्ण प्रत्याभूतिले मात्र नागरिक खुसी हुने बताए।उनले वर्तमान सरकारका नीति, कार्यक्रम र बजेट नेपाली जनतालाई खुसी बनाउने दिशामा केन्द्रित हुनुपर्ने सुझाव दिए।



