काठमाडौँ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दुईवटा माध्यमिक विद्यालयका नयाँ भवनहरूको शिलान्यास गरिएको छ।नमोबुद्ध नगरपालिकाको श्री जनहित माध्यमिक विद्यालय र नमोबुद्ध–४ स्थित श्री जनक माध्यमिक विद्यालयका नयाँ भवनको शिलान्यास गरिएको हो।
भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा र शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले दुवै विद्यालयका भवनको संयुक्त रूपमा शिलान्यास गरेका छन्। कार्यक्रममा नेपाल सरकारका पदाधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।
भूकम्पपछिको पुनर्निर्माण अनुदान सहायता अन्तर्गत भारत सरकारको सहयोगमा दुवै विद्यालय भवन निर्माण हुन लागेका हुन्। जनहित माध्यमिक विद्यालयको भवन ५ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण हुन लागेको हो। यो भवनमा विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, शौचालय र सातवटा कक्षाकोठा रहने दुईवटा ब्लक निर्माण थियो।
भूकम्पपछिको जनक माध्यमिक विद्यालयको भवन निर्माणका लागि करिब ६ करोड ३५ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यस भवनमा १८ वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय र प्रशासनिक कक्ष रहने दुईवटा ब्लक निर्माण हुनेछन्।
कार्यक्रममा बोल्दै केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले पुर्याएको प्राविधिक तथा वित्तीय सहयोगप्रति आभार व्यक्त गरे।
त्यसैगरी नगर प्रमुख कुन्साङ लामाले भारत सरकारको विकास सहायताको प्रशंसा गर्दै विद्यालयको पूर्वाधार स्तरोन्नतिले विद्यार्थी र शिक्षकहरूका लागि पठनपाठनको वातावरण सुधार गर्न मद्दत पुग्ने बताए।
भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास कार्यक्रमले भारत र नेपालबीचको मजबुत एवं दिगो विकास साझेदारीलाई झल्काएको बताए। उनले भारत सरकारको अनुदान सहायता कार्यक्रम अन्तर्गत नेपालमा विभिन्न विकास आयोजनाहरू सञ्चालन भइरहेको उल्लेख गरे।
भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रम अन्तर्गत भारत सरकारले नेपालभर ८५ वटा शैक्षिक संस्था, १३३ वटा स्वास्थ्य संस्था, ३० वटा सांस्कृतिक सम्पदा र ५० हजार निजी घरहरूको पुनर्निर्माणमा सहयोग पुर्याएको छ।



