Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सेनासँग सांसदको जोरी, सुरक्षामा कस्तो सन्देश?

सेनासँग सांसदको जोरी, सुरक्षामा कस्तो सन्देश?

बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ। काठमाडौँको माकलबारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णेश्वरस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा सेनाका अधिकृतलाई हप्काउने शैलीमा सवाल जबाफ गरेका हुन्।

    पाण्डेको व्यहारपछि प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेट गरेका छन् । उच्च स्रोतका अनुसार प्रधान सेनापतिले सांसद पाण्डेको व्यवहारप्रति ध्यानाकर्षण गराएका छन् । तर, मंगलबार करिब २५ मिनेट भएको भेटलाई नेपाली सेनाले ‘नियमित’ भनेको छ।

    images

    सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले भेटबारे भने, ‘प्रधानमन्त्री र प्रधान सेनापतिको बिचमा नियमित भेटघाट भएको हो।’

    गोकर्णेश्वरस्थित माकलबारी नजिकै सैनिक ब्यारेक छ । विपद् व्यवस्थापन शिक्षालय रहेको सो ब्यारेकमा कर्णेल प्रमुख हुन्छन्। बागमती करिडोरको बाटो खोल्न भन्दै सांसद पाण्डे डोजर लिएर त्यहाँ पुगेपछि ब्यारेकबाट निस्किएका सेनाका क्याप्टेनले काम रोक्न आग्रह गर्दै भने, ‘वैधानिक पत्र त चाहियो नि हजुर।’

    ब्यारेकमा फौज रहेको र जङ्गली जनावरसमेत भित्र भएकाले जनावर भाग्नसक्ने भन्दै क्याप्टेनले तत्काल पर्खाल नभत्काउन आग्रह गरे । सार्वजनिक भिडियोमा उनले भनेका छन्, ‘जंगली जनावर भाग्यो भने समस्या हुन्छ।’

    क्याप्टेनको आग्रहलाई लत्याउँदै पाण्डे अराजक शैलीमा प्रस्तुत भए । उनले प्रतिप्रश्न गरे, ‘फौज बसेर के भो त ? जीर्ण पर्खाल राखेर हुन्छ ? मापदण्ड सबैलाई लागु हुन्छ ? डोजर रोकिँदैन, आदेश स्पष्ट लिएर आएको छु।’पछाडि भिडले ताली बजाउँदै नारा लगाए– ‘राजु पाण्डे जिन्दावाद।’

    राष्ट्रिय सुरक्षाको जिम्मेवारी पाएको सेनाप्रति प्रतिनिधि सभा सदस्यको त्यो व्यवहारले सार्वजनिक रूपमा सुरक्षाकर्मीहरूलाई थर्काउन पाइन्छ भन्ने सन्देश गएको छ । पाण्डेको दबंग शैलीका कारण अराजकताले प्रश्रय पाउने सुरक्षा निकायका अवकाशप्राप्त अधिकारी बताउँछन्।

    प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा प्रधान सेनापतिले त्यही असन्तुष्टि व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले बताए।

    बागमती करिडोरमा पर्ने सो जग्गा नेपाल ट्रस्टको स्वामित्वमा थियो । त्यहाँ करिब २ सय मिटर जग्गामा सेनाको ब्यारेकको पर्खाल थियो । जग्गाको पर्खाल भत्काउनेबारे समन्वय गर्नुपर्ने सेनाका अधिकृतको आग्रहलाई पाण्डेले बेपरवाह जबाफ दिए, ‘नेपाल ट्रस्टलाई सोध्नुस् न, तपाईंलाई किन चाहियो?’

    सांसद पाण्डेले सेनाका अधिकृतलाई हप्काएको घटनालाई सेनाको प्रतिष्ठा मानमर्दन गर्ने व्यवहारको रूपमा आफूले बुझेको पूर्वउपरथी बाबुराम श्रेष्ठले बताए । सेनाको अस्तित्वमाथि सांसद पाण्डेले धाबा बोलेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘भोलि भईपरी आउँदा राष्ट्रिय सुरक्षा कसले गर्छ?’

    सांसद पाण्डेको व्यवहार एक माननीयले गर्ने खालको नभएको तर, क्याप्टेनको व्यवहार संयमित भएको पूर्वउपरथी श्रेष्ठले बताए । उनले भने, ‘जिम्मेवारहरूको यस्ता व्यवहारले राष्ट्रिय सुरक्षामा असर गर्छ।’

    नेपाली सेनाबाट सशस्त्रमा गएर एआईजी तहमा पुगेर अवकाश पाएका सीपी गौतमले सेनासँग समन्वय गरेरै बाटो खोल्न सकिने अवस्था रहेको बताए । उनले भने, ‘फेस टु फेस गर्नुपर्ने अवस्था नै थिएन।’

    पाण्डेको व्यवहारले राष्ट्रिय सुरक्षामा असर पर्ने पूर्वएआईजी गौतमले बताए । उनले थपे, ‘यस्ता घटनाले गर्दा जे गरे पनि हुन्छ भन्ने कुराले प्रश्रय पाउँछ।’

    आर्मीलाई थर्काएर अराजकता प्रदर्शन गरेका पाण्डे सांसद हुनुअघि काठमाडौँ महानगर प्रहरी बलको प्रमुख (एसएसपी) थिए । त्यसबेला हालका प्रधानमन्त्री शाह महानगर प्रमुख थिए । २०८२ फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट माग्दै उनले भनेका थिए, ‘म बालेनको सिपाही हुँ।’

    राष्ट्रिय सुरक्षा सेनासँग मात्र जोडिएको विषय नभएको सुरक्षा अधिकारी बताउँछन् । राष्ट्रिय सुरक्षको फ्रन्टलाइनमा सेना खटिने भए पनि ब्याकबाट नागरिकको सहयोगमा राष्ट्रिय सुरक्षा सम्भव हुने पूर्वरथी श्रेष्ठको भनाइ छ । श्रेष्ठले प्रश्न गरे, ‘सेनाले सुरक्षाको अनुभूति नगराए हाम्रो हालत के हुन्छ ?’ 

    Raju Vs Army 4.20 (2083)

    गोकर्णेश्वरको ब्यारेक सेनाले व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरेको पूर्वउपरथी श्रेष्ठले बताए । उनका अनुसार सेनाले विगतमा आफूले प्रयोग गरिरहेको संरचना राष्ट्र र जनताको आवश्यकता अनुसार छाड्ने गरेको उदाहरण प्रशस्तै छन्।जेनजी प्रदर्शनमा आगजनी भएको बानेश्वरको संसद् भवन, भीमसेन थापाको दरबार भएको ठाउँमा बनेको सडक र पोखराको फूलबारी ब्यारेकको जग्गा सेनाले नै उपलब्ध गराएको उनको भनाइ छ।

    सांसद पाण्डेले अधिकार सम्पन्न बागमती परियोजना र नगर विकास प्राधिकरणसँग समन्वय गरेरै सैनिक ब्यारेकको पर्खाल भत्काइएको प्रष्टीकरण दिएका छन् । नेपाली सेनाका प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले गोकर्णेश्वरको घटनामा सम्बन्धित निकायलाई जानकारी गराएर समन्वय भइरहेको बताए । बस्नेतले भने, ‘नेपाल ट्रस्ट लगायतका निकायसँग समन्वय भइरहेको छ।’

    घटनापछि प्रधानमन्त्रीको सचिवालयले सांसद पाण्डेलाई सचेत गराएको छ । सांसद पाण्डेले पनि आत्मालोचनासहित विज्ञप्ति प्रकाशन गरेका छन् । सैनिक अधिकृतलाई आफूले नथर्काएको जिकिर गर्दै पाण्डेले भनेका छन्, ‘सेनालाई कहाँ थर्काएँ, क्याप्टेन साब भनेको थर्काएको हुन्छ?’

    सार्वजनिक रूपमा घटनाबारे प्रतिक्रिया दिँदै पाण्डेले सुरुमा समान्य विवाद भए पनि पछि सेनासँगै साँझसम्म बसेर करिडोरको ट्रयाक खोलिएको बताएका छन् । उनले भनेका छन्, ‘क्याप्टेन साब यस्तो हो भनेर भनेको छु, त्यहाँ के भएको छ असमझदारी?’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार