काठमाडौँ। बलिउड फिल्म ‘हेरा फेरी ३’ लाई लिएर अक्षय कुमारसँग भइरहेको विवादका बिच वरिष्ठ अभिनेता परेश रावलले अर्को सनसनीपूर्ण खुलासा गरेका छन्।
उनले फिल्म ‘ओह माई गड २’ (ओएमजी २) को वास्तविक कथा र अवधारणा आफ्नै भएको दाबी गरेका हुन् । तर पछि यसको स्क्रिप्ट परिवर्तन गरिएको र आफूलाई यसको कुनै क्रेडिट समेत नदिएको गुनासो उनले गरेका छन्।
विक्की लालवानीसँगको अन्तर्वार्तामा परेश रावललाई ‘ओएमजी २’ मा काम नगर्नुको कारणबारे सोधिएको थियो । जवाफमा उनले फिल्मका निर्देशक अमित रायसँग मिलेर आफूले नै यो योजना बनाएको बताए । उनले भने, ‘मैले अमित रायसँग रोड टु संगम फिल्ममा काम गरेको थिएँ । म उनको प्रशंसक हुँ । त्यसैले मैले उनलाई केही नयाँ सोचिरहेको छौ भनी सोधेँ र मसँग एउटा आइडिया छ, मिलेर काम गरौँ भनेँ।’
आफ्नो वास्तविक आइडियाबारे प्रस्ट पार्दै परेश रावलले हस्तमैथुन गर्दा समातिएको र भिडियो भाइरल भएर मजाक बनेको एउटा युवकको कथा आफूले सोचेको बताए । ती युवकका बुबा खजुराहोको टुरिस्ट गाइड भएको तर निर्देशक अमितले बुबालाई महाकालको पुजारी देखाउने थप सोच राखेको उनले बताए । कथा कतै पनि अश्लील नलागोस् भन्नका लागि आफूले सेक्सोलोजिस्ट साथीसँग ५–५ घण्टासम्म बसेर छलफल गरेको उनले उल्लेख गरे।
यो कथामा परेश रावलले एउटा बाइक चलाउने वा सामान बेच्ने मानिसको थप पात्र सिर्जना गरेका थिए, जो बिच बिचमा आएर ज्ञान दिएर जान्थ्यो । त्यो रोलका लागि उनी आफैँ अजय देवगन र सलमान खानकहाँ गएका थिएछन्।
अक्षयकहाँ नगएको कारण खोल्दै उनले भने, ‘यदि म अक्षयकहाँ गएको भए यो फिल्म ओह माई गड २ बन्दैछ भन्ने सन्देश जान्थ्यो । त्यसैले म विपुल शाहकहाँ पनि गएँ र बैठक पनि भयो । तर पछि अमितको फोन आयो र उनले केही गडबड भएको बताए । उनले अरू नै मानिसहरू यस फिल्ममा इच्छुक भएको र अक्षयले यो फिल्म गर्न लागेको जानकारी दिए।’
अनजानमा लेखिएको ‘ओएमजी २’ र क्रेडिट नपाएको पीडा
निर्देशक अमित रायले अनजानमा वा कमजोरीका कारण उक्त स्क्रिप्टमाथि ‘ओएमजी २’ लेखिदिएको परेश रावलको भनाइ छ । उनले भने, ‘हामीलाई ओएमजी जस्तै छुट्टै र नौलो विषयमा फिल्म बनाउनु थियो, यो ओएमजी २ थिएन । तर ती मानिसहरूले अमितबाट स्क्रिप्ट लिए । मैले अमितलाई यो कुनै फ्रेन्चाइजी होइन भनेँ, तर म उनीसँग झगडा गर्न सक्दिनथेँ।’
अक्षय कुमार आफैँले परेश रावललाई फिल्म गर्न आग्रह गरे पनि उनले अस्वीकार गरिदिएका थिए । परेश रावलले भने, ‘यदि यो वास्तविक सीक्वल हुन्थ्यो भने म फिल्म पक्कै गर्थेँ, राम्रो पैसा लिन्थेँ र स्टोरीको क्रेडिट पनि लिन्थेँ । तर दुःखको कुरा, मलाई स्टोरीको क्रेडिट पनि दिइएन । म कथाकार होइन, तर कथाको अवधारणा परेशको थियो भन्ने क्रेडिटसम्म पनि पाइनँ।’
यो कथा आफ्नो हो भन्ने कुरा अक्षय कुमार, करण जोहर, सोमेन मिश्रा, अश्विन वर्दे र सलमान खान सबैलाई थाहा भएको उनको दाबी छ।
परेश रावल फिल्मबाट हटेपछि उनको स्क्रिप्टमा बनेको फिल्म ‘ओएमजी २’ लाई अमित रायले नै निर्देशन गरे र स्टोरी क्रेडिट पनि अमितले नै पाए । अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको यो फिल्म सन् २०२३ मा रिलिज भई हिट भएको थियो।



