काठमाडौँ । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) को कम्प्युटर इन्जिनियरिङ एन्ड टेक क्लब (सीआईटीसी) ले अन्तर-कलेज साइबर सुरक्षा प्रतियोगिता 'कवच: क्याप्चर द फ्ल्याग' सफलतापूर्वक सम्पन्न गरेको छ।
बालकुमारीस्थित कलेजमा आयोजित उक्त कार्यक्रम नेपाल टेक कम्युनिटी (एनटीके) सँगको सहकार्य र 'वाईथ्रीटीआई@सेक' को प्राविधिक साझेदारीमा सञ्चालन भएको हो।
नेपालका विभिन्न कलेजका प्रविधिप्रेमी विद्यार्थीहरूमाझ साइबर सुरक्षा सम्बन्धी सचेतता, व्यावहारिक सिकाइ र सञ्जाल विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रति टोली बढीमा दुई जना सहभागी हुन पाउने व्यवस्था गरिएको यस प्रतियोगितामा कुल ३० वटा टोलीका ५३ जना विद्यार्थी सहभागी थिए। जसमा सात वटा एकल टोली र २३ वटा दुई जना सदस्य भएका टोली सामेल थिए। प्रतियोगितामा सफ्टवेरिका कलेज, हेराल्ड कलेज, टेक्सस कलेज, किस्ट, एनसीआईटी, ट्रिनिटी, शङ्करदेव र कसमस लगायतका विभिन्न कलेजका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
तीव्र प्रतिस्पर्धाका बिच सफ्टवेरिका कलेजको 'प्रिजम' टोली ४२५२ अङ्क प्राप्त गर्दै प्रतियोगिताको प्रथम हुन सफल भयो। प्रथम हुने टोलीले टेकएक्सिसको तर्फबाट शतप्रतिशत निःशुल्क कोर्स, नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्यो।
यसैगरी सफ्टवेरिका कलेजकै 'सुडो सिब्लिङ्स' टोली दोस्रो भयो। जसले टेकएक्सिसको कोर्समा ५० प्रतिशत छुट र नगद पुरस्कार प्राप्त गर्यो। टेक्सस कलेजको 'कोजी बियर्स' टोलीले तेस्रो स्थान हासिल गर्दै टेकएक्सिसको कोर्समा ३० प्रतिशत छुट र नगद पुरस्कार हात पार्न सफल भयो।



